
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्ले लालबन्दी नगरपालिकाको समग्र पहिचान समेटिने पुस्तक प्रकाशनका लागि लेखक तथा अनुसन्धानकर्तासँग पाण्डुलिपि माग गरेको छ । परिषद्का अध्यक्ष अच्युत अधिकारीले एक अनुरोधपत्र जारी गर्दै भावी पुस्ताका लागि उपयोगी र विश्वसनीय सन्दर्भग्रन्थ निर्माण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गर्न लागिएको जानकारी दिनुभएको हो ।
पाण्डुलिपिका लागि लालबन्दीको ऐतिहासिक पृष्ठभूमि तथा विकासक्रम, भौगोलिक तथा प्राकृतिक सम्पदा, स्थानीय कला–साहित्य–भाषा तथा लोकसाहित्य, जातजाति, संस्कृति,संस्कार, परम्परा तथा सामाजिक जीवन, धार्मिक-ऐतिहासिक तथा पुरातात्त्विक स्थल, स्थानीय जात्रा-पर्व-मेला तथा सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना तथा पर्यटनस्थल, स्थानीय कृषि-अर्थतन्त्र तथा जीवनशैली, विकासक्रममा योगदान पुर्याएका सामाजिक सङ्घ संस्थालगायत विषय तोकिएका छन् । यस्तै स्थानीय मौलिक ज्ञान, सीप, लोककला तथा हस्तकलासहित अन्य महत्त्वपूर्ण ऐतिहासिक, सांस्कृतिक वा पर्यटनसम्बन्धी विषयमा समेत सामग्री पठाउन सकिने परिषद्ले जनाएको छ ।

परिषद्ले पाण्डुलिपि तयार गर्दा सम्भव भएसम्म प्रामाणिक स्रोत, तथ्य, मिति, स्थान, अभिलेख तथा सन्दर्भसामग्री समावेश गर्न आग्रह गरेको छ । आवश्यक तस्बिर तथा दस्ताबेजसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ । प्राप्त पाण्डुलिपिलाई सम्पादकीय मापदण्डअनुसार सम्पादन तथा परिमार्जन गरी पुस्तकमा समावेश गरिने परिषद्ले जनाएको छ ।
इच्छुक लेखक तथा अनुसन्धानकर्ताले आफ्नो परिचय र आवश्यक तस्बिरसहित पाण्डुलिपि २०८३ कात्तिक १५ गतेभित्र परिषद्को कार्यालयमा उपलब्ध गराउनुपर्ने छ । पाण्डुलिपि लालबन्दी नगर वाङ्मय परिषद्को कार्यालय, लालबन्दी–७, सर्लाहीमा बुझाउन वा परिषद्ले उपलब्ध गराएको इमेलमार्फत पठाउन सकिने सूचनामा उल्लेख छ ।