लालबन्दी नगर वाङ्मय परिषद्को साहित्य पुरस्कारका लागि पुस्तक माग

श्रावण ३०, २०८३ |कान्तिपुर टीभी संवाददाता
लालबन्दी नगर वाङ्मय परिषद्को साहित्य पुरस्कारका लागि पुस्तक माग

सर्लाही । ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८३’ का लागि पुस्तक उपलब्ध गराउन आह्वान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार सार्वजनिक गरेको सूचनामार्फत नेपाली भाषामा लेखिएका तथा २०८१ सालपछि प्रकाशित साहित्यिक कृतिका लेखकहरूबाट पुस्तक माग गरेको हो ।

‎पुस्तक साहित्यका जुनसुकै विधाको भए पनि फरक नपर्ने परिषद्ले जनाएको छ । ‎पुरस्कारका लागि इच्छुक लेखकले आफ्नो सम्पूर्ण परिचय खुल्ने गरी दुई प्रति पुस्तक परिषद्को कार्यालयमा २०८३ असोज १५ गतेभित्र आइपुग्ने गरी पठाउनुपर्नेछ । म्याद नाघी प्राप्त भएका पुस्तकहरू पुरस्कार छनोट सूचीमा समावेश नगरिने सूचनामा उल्लेख छ । प्राप्त पुस्तकमध्ये उत्कृष्ट एक कृतिका कृतिकारलाई ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८३’ प्रदान गरिनेछ । पुरस्कारको राशि रु. ५० हजार रहेको छ । पुरस्कारसँगै सम्मानपत्रसमेत प्रदान गरिने परिषद्ले जनाएको छ ।‎

‎परिषद्का अनुसार पुरस्कार तथा सम्मान वितरणको मिति, समय र स्थानसँगै उत्कृष्ट १० कृतिको नामसमेत प्रकाशन गरिने छ । नेपाली भाषा, साहित्य, कला, सङ्‌गीत तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थापित परिषद्ले हरेक वर्ष राष्ट्रियस्तरमा योगदान पुर्‍याएका साहित्य साधकलाई सम्मान गर्दै आएको जनाएको छ ।

‎यसैगरी नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका राष्ट्रिय व्यक्तित्वलाई प्रदान गरिँदै आएको ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८३’ समेत ‎रु. ५० हजार राशिसहित प्रदान गरिने सूचनामा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.