कात्तिक नाँच र झ्याल्चा यी दुई प्रशंग मैले पहिलोपटक उनकै मुखबाट सुनेको हुँ ।
मेरो बाल्यकाल ललितपुरकै पेरीफेरीमा बितेको हो । सानेपा, झम्सिखेल, पुल्चोक र मंगलबजार एकैदिनमा धेरैचोटि चक्कर लगाउँथ्यौं हामी । मैले मत्याको बारेमा सुनेको थिएँ । रातो मच्छिन्द्रनाथ रथयात्रा थाहा थियो । एक महिना लाग्ने आदिनाथ मेला पनि भरेको छु पटक-पटक । तर कात्तिक नाँच र झ्याल्चाबारे मैले सत्यमोहन जोशीलाई भेट्नुअघि सुनेको थिइनँ ।
३ सय ७५ वर्षअघि राजासिद्धिनरसिंह मल्लको पालादेखि देखाइँदै आएको कात्तिक नाँच हरेक वर्ष १० दिनसम्म साँझ ७ बजेदेखि मध्यरातसम्म पाटनमा देखाइन्छ । यो नाचमा बाःथः प्याँख, उषा हरण लीला, नारायण जलशयन, नृसिंह अवतार, भैरव, कुमारी, महालक्ष्मी नाँच, वराह अवतार, मधुकैटभ वध, हीरण्यकश्यप वध, वस्त्रहरणलगायत नृत्य प्रदर्शन गरिन्छ । मध्यरातसम्म ललितपुरवासी निकै उत्साहका साथ कात्तिक नाच अवलोकन गर्दछन् । शताब्दीपुरुष सत्यमोहन जोशीले बताएपछि नै मैले यो सब कुरा थाहा पाएको हुँ । पछिल्ला केही वर्षदेखि त मिडियाले पनि कात्तिक नाँचलाई प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरिरहेको छ । परम्परागत कात्तिक नाँचमाथि कथा लेख्ने मेरो रहर अझै पूरा भएको छैन ।
तर मैले पाटनकै परम्परागत पर्व झ्याल्चामाथि कथा लेखेको छु ।
०००
‘एक दिन राजा योगनरेन्द्र मल्ल पाटनतिर जाँदै गर्दा च्यासलको इनारनजिकै एउटी व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन् । निकै सुन्दर युवती देखेर मुग्ध राजाले उनलाई बिहे गरेर दोस्रो रानीका रुपमा भित्र्याएपछि जेठी रानीलाई असह्य हुन्छ । जेठी रानीले च्यासलका अवालहरु (कुम्हाले) उठाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न झ्याल्चा देखाउन लगाइन्,’ सत्यमोहनले भने, ‘झ्या भनेको झ्याल र ल्चा भनेको देखाउने हो । ती व्यञ्जनकार सुन्दरी केटीप्रति राजा आकर्षित भएपछि जेठी पत्नीले समाजमा योगनरेन्द्रको बद्नाम गर्न सुरु गरेको जात्रा हो यो ।’
उनको यही भनाइपछि म कथा लेख्न उद्दत भएँ ।
एक वर्ष कुरेर इन्द्रजात्राको अघिल्लो रात पाटनको च्यासलमा झ्याल्चा हेर्न गएँ पनि । अनि लेखेँ झ्याल्चा । यो कथा कान्तिपुरमा छापिएपछि निकै प्रतिक्रिया पाएँ । तर शताब्दीपुरुष सत्यमोहनको मुखबाट प्रशंसा सुनेपछि निकै नै आल्लादित भएँ ।
‘पाटनको कल्चरलाई तपाईंले पठनीय रुपमा कथामा उतार्नुभएको छ । हामीले लेख्नुपर्ने भनेको आफ्नै संस्कृतिमाथि हो । विदेशमा नेपाली साहित्य पुर्याउन उनीहरुको कुरा लेखेर हुँदैन । हाम्रो आफ्नो मौलिक कुरा लेख्नुपर्छ । त्यो तपाईंले गर्नुभयो । धन्यवाद भाइ ।’
म गमक्क फुँले उनको धन्यवादले । निकै डराई-डराई कथा भयो कि भएन भनेर मैले झ्याल्चा लेखेको थिएँ । नेवार समुदायले इन्द्रजात्राको अघिल्लो दिन मनाउने झ्याल्चामाथि लेखिएको मेरो कथालाई उनले लालमोहर लगाए दिए । संस्कृतिका संवाहकका रुपमा चिनेको शताब्दी पुरुष सत्यमोहन जोशीले धन्यवाद दिइसकेपछि फुल्दिनँ भन्दा पनि गमक्क भएछु म ।
०००
(शताब्दीपुरुष सत्यमोहनलाई मैलै धेरैपटक भेटेको छु । जतिपटक भेटेँ, उनीसँग बिताएका हरेक क्षण मेरो जीवनको अमूल्य निधि बनेका छन् ।)
विक्रम संवत २०५८ सालतिर हुनुपर्छ । त्यसताका म स्पेसटाइम दैनिकमा काम गर्थे । २०६१ भदौ १६ मा इराकमा १२ नेपालीले ज्यान गुमाएको विरोधमा काठमाडौंमा भएको हुलदंगापछि स्पेसटाइमको प्रकाशन रोकियो । तर एउटा सामान्य कविलाई पत्रकार बनाउने स्पेसटाइमसँग मेरा धेरै सन्दर्भहरु जोडिएका छन् । स्पेसटाइमकै शनिबार निस्कने विशेषका लागि सामग्री तयार पार्न म सत्यमोहनको घर पुगेथेँ । सन्दर्भ थियो न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीको अनुभव सुन्ने । तर त्यहाँ पुगेपछि उनको सादगी र छरितो जीवन शैलीले मलाई लोभ्यायो ।
‘भाइ जीवन सन्तोषले बाँच्यो भने पुग्छ । अरु सबै आफैं प्राप्त हुन्छन् ।’
‘सन्तोष लिन त्यति सहज कहाँ सकिन्छ र ?’ मैले आफ्नै अज्ञानता पोखेँ ।
‘के लायो होला, के खायो होला, मेरो माया रेलिमाई जुरेली चरीले ’ उनले त गीत पो गाए । म छक्क परेँ । ‘आफूलाई हेर्ने होइन अरुलाई हेर्नुस्... सन्तोष आफैं मिल्छ ।’
यो गीत उनले विक्रम संवत २००० तिर पहिलोचोटि सुनेका रहेछन् । नेपालका ग्रामीण क्षेत्रको सामाजिक आर्थिक अवस्थाको अध्ययन गर्न त्यसताका गाउँ-गाउँ पुगेका उनी लोकभाका टिपेर फर्केछन् । त्यसोत आफ्नो जीवनको दृष्टिकोण नै फेरेर उनी राजधानी फर्किएका रहेछन् । त्यही सुनेका हुन् उनले, ‘किन रुन्छस् बनको न्याउली, तँभन्दा म छु नि बैरागी ।’
त्यतिबेला उनले न्याउली भनेको के हो पनि बुझेका रहेनछन् । जब गाउँलेबाट न्याउली भन्ने चराबारे थाहा पाए । उनी जंगलमा बसेर घण्टौंसम्म न्याउलीको ‘न्याउँन्याउँ’ सुन्न थाले । पहाडको खोँचमा न्याउलीको ‘विरही-धुन’ प्रतिध्वनि बनेर गुन्जिँदा उनी संसार भुल्थे । अनि अनुमान लगाउँथे, ‘पक्कै भालेपोथी छुट्टिए होलान् । र, आफ्नो प्रियसीको पर्खाइको आसमा गीत गाइरहेका होलान् ।’
उनलाई लाग्छ, ‘मनमा दुःख परेको बेला निस्केको भावना नै मीठो संगीत हो ।’ २६/२७ वर्षको उमेरमा गाउँ पुगेर उनले त्यो कुरा बुझे । न्याउलीको विरह गीत, चराको जीवन र मनमा विछोडको पीडा हुँदा-हुँदै पनि गीत गाएर हाँसीखुसी जीवन बाँचिरहेका गाउँलेलाई हेरे । अनि सोचे, ‘जीवन भनेको यस्तै त रहेछ । भोलिको के चिन्ता किन गर्नु ?’
हो, उनको यही दर्शनले उनलाई दीर्घजीवन दिएको हो ।
उनले २६/२७ को उमेरमा बुझेका कुरा मलाई पनि २६/२७ मा नै बुझाएका हुन् उनले । न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीको अनुभव लेख्न सत्मोहन जोशीको निवास पुगेको म ‘गाई पाल्यो रेलिमाई बनको बाघलाई, छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई ।’ सुनेर फर्किए ।
दोस्रो विश्वयुद्धको समय थियो त्यो । गल्लावाल आउँथे र १५ देखि ४५ वर्षसम्मका पुरुषलाई विभिन्न आश्वासन देखाएर बेलायती सेनामा भर्ती गराउन लैजान्थे । युद्धमा गएको सेनाको फर्किने टुंगो हुने कुरा पनि भएन । अनि महिलाहरु गाउँथे, ‘गाई पाल्यो रेलिमाई बनको बाघलाई, छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई।’
त्यसो त लमजुङको गाउँमा उनलाई सबैभन्दा मन परेको गीतचाहिँ रहेछ, ‘किन रुन्छस् बनको न्याउली, तँभन्दा म छु नि बैरागी ।’ र अर्को, ‘के खायो रेलिमाई, के लायो होला, मेरो माया रेलिमाई जुरेली चरीले ।’ यो गीत पनि विश्वयुद्धका कारण छुट्टिएको आफ्नो परिवारलाई सम्झिएर आमा र श्रीमतीहरुले गाउने गरेको भाका थियो । उनी आफैंलाई प्रश्न गर्थे, ‘कहाँबाट निस्कन्छ यस्तो गीत ? जहाँ पढेलेखेका मान्छे नै छैनन् र त्यो ठाउँका मान्छेको व्यथा विश्व राजनीतिसँग जोडिन्छ ।’
०००
त्यसअघि २०४९ सालमा म सत्यमोहन जोशीको निवास पुगेको थिएँ । पहिलो कविता संग्रह ‘आन्दोलनले छट्पटाएका कलमहरु’ लिएर । दीपक र मेरो यो संयुक्त कविता संग्रह ओल्टाइ पल्टाई हेरेपछि उनले भने,‘हेर्दा कलिला छौ, कविता त फेरि आन्दोलनका छन् त ?’
हामी केही बोलेनौं ।
‘लेख्नु । लेख्न नछाड्नु । र लेख्दा सधैं आफ्नै समाज, संस्कृति र परिवेश लेख्नू । जुन विश्वजगतका लागि नौलो बनोस् ।’
०००
त्यसपछि २०५६ सालतिर हुनुपर्छ कवि गोवर्द्धनपूजा र म उनको निवास पुग्यौं । पाटनको गल्लीभित्र ऐतिहासिक स्थानमा अवस्थित घरभित्र भेटिने उनी हामीलाई जीवित सम्पदा जस्तो लाग्थ्यो । मैले एकचोटि लेखेको पनि छु- ‘जीवित देवीका रुपमा कुमारीको पूजा गर्ने हामीले जीवित सम्पदाको रुपमा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरौं ।’ त्यसताका घट्ना र विचारमा छापिएको यो आर्टिकलले केही चर्चा पनि पायो । त्यसो त संस्कृतिका संवाहक जोशीसँग नेपाली कला, रंगमञ्च र साहित्यका अथाह भण्डार छ । आफैंमा सम्पदा बनेका उनलाई त्रिमूर्तिले शताब्दी पुरुषको पदवी दियो । राज्यले तुरुन्तै स्वीकार्यो । शताब्दी पुरुषलाई राज्यले भन्दा पहिले जनताले नै स्वीकारे । जनजिब्रोले स्वीकारी सकेपछि राज्यले स्वीकार्नु स्वभाविक नै भयो ।
उनलाई दिइएको ‘शताब्दी पुरुष’ उनको जीवनको सम्मान मात्र थिएन, नेपाली जनताको आदर, भरोसा र आस्थाको पनि सम्मान थियो र त शताब्दी पुरुषको उपाधि छिटो जनजिब्रोमा झुन्डियो ।
०००
शताब्दी पुरुष सत्यमोहनका हातबाट मैले ससिद्धि कलाश्री राष्ट्रिय पुरस्कार २०६८ ग्रहण गरें । विभिन्न पदक र सम्मान लिएको छु । तर हरेक भेट र सन्दर्भमा उनमा भेटिने सरलता मेरो जीवन दर्शन बनेको छ । शान्त र शिष्ट उनी हरेक भेटमा उत्तिकै आत्मीय रुपमा प्रस्तुत हुन्थे ।
मित्र गिरिश गिरीले लेखेको सत्यमोहन विमोचनको दिनको भेट नै उनीसँगको मेरो अन्तिम भेट हो ।
‘बधाइ हजुर, यति राम्रो किताब आयो,’ मैले भनें ।
‘आफ्नै बारेको किताबले म पनि हौसिएको छु । मेरो जीवनलाई गिरिशले सुन्दर रुपमै बाहिर ल्याए । पूरै पढेर सक्नु है भाइ।’ उनले भनेअनुरुप नै मैले पूरै पढेँ । तर पढेर कहाँ सकिन्छ सत्यमोहनको जीवन ? उनको विशिष्ट र फराकिलो जीवन सधैँ सबैका लागि पढिरहने र मनन गरिरहने विषय हो ।
उनले भने झैँ कहाँ पढेर सक्छु र मैले ‘सत्यमोहन’!
यी सामग्रीहरू पनि पढ्नुहोस् !