टुंगियो कांग्रेस र एमालेले लिने मन्त्रालयको भागबन्डा, भोलि मन्त्रिपरिषद् विस्तार

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
टुंगियो कांग्रेस र एमालेले लिने मन्त्रालयको भागबन्डा, भोलि मन्त्रिपरिषद् विस्तार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

दुई दलबीचको सहमतिअनुसार एमालेले ९ र कांग्रेसले १० वटा मन्त्रालय सम्हाल्नेछन् । भोलि नै नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी छ ।

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुंगो लागिसकेको छ भने पदम गिरी, योगेश भट्टराई, छविलाल विश्वकर्मा र विद्या भट्टराई मन्त्री बन्दै हुनुहुन्छ । अन्यको टुंगो लाग्न बाँकी छ । पौडेलबाहेक अन्यको मन्त्रालयको टुंगो भने लागेको छैन । महासचिव शंकर पोखरेलका अनुसार एमालेले अर्थ, रक्षा, संघीय मामिला, भौतिक, सञ्चार, शिक्षा, उद्योग र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्दै छ ।

कांग्र‍ेसले गृह ,परराष्ट्र, कानुन, सहरी विकास, स्वास्थ्य, पर्यटन, कृषि, महिला, श्रम र युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गर्नेछ । कांग्रेस पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृ्त्वमा सरकारमा सहभागी हुँदै छ । तर बाँकी नौ जनाको भने टुंगो लागिसकेको छैन ।

रमेश लेखक, आरजु देउवा, हृदयराम थानी, प्रदीप पौडेल, तेजुलाल चौधरी, रामनाथ अधिकारी, अजय चौरसियालगायत मन्त्री बन्ने सम्भावित सूचीमा छन् । कांग्रेसको शेखर-गगन समूहले कम्तीमा चारवटा मन्त्रालयमा दाबी गरिरहेको छ । शक्तिशाली सरकार बन्ने भएकाले मन्त्रालयको नेतृत्वमा पनि क्षमता भएकालाई पठाउनुपर्ने कांग्रेस नेता अर्जुननरसिंह केसीको भनाइ छ ।

मन्त्रिपरिषद् विस्तारबारे आज दिनभर एमाले महासचिव पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच छलफल भएको थियो । एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री ओलीले पनि जसपा, जसपा नेपाल, लोसपालगायत दलका नेताहरुसँग बालकोटमा छलफल गर्नुभएको छ । नयाँ गठबन्धनलाई समर्थन गर्ने यी दलहरुलाई पनि सरकारमा सहभागी गराउने ओलीको तयारी छ ।

यो पनि...

४५औं प्रधानमन्त्रीमा केपी ओली

सत्तामा ठूला दल : के-के छन् चुनौती ?

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

केपी ओलीको चौथो कार्यकाल : अवसर के र चुनौती के ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement