एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज (आइतबार) संविधानको धारा ७६ को २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि (सोमबार) बिहान ११ बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

ओली प्रधानमन्त्री नियुक्त भएपछि उहाँको निजी निवास बालकोटमा बधाइ तथा शुभकामना दिने नेता-कार्यकर्ताको घुइँचो लागेको छ । दलहरुले भोलि नै मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच यसअघि नै मन्त्रालय बाँडफाँट भइसकेको छ ।

संसद्को ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपति समक्ष संविधानको धारा ७६ को २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । चौथोपटक प्रधानमन्त्री बन्नुभएका ओलीलाई राष्ट्रपति पौडेलले सोमबार शपथग्रहण गराउनुहुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

नयाँ सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित १० वटा मन्त्रालय र एमालेले प्रधानमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । तर, अन्य दललाई समेत सहभागी गराउनुपर्ने भएकाले मन्त्रालयको संख्या थपघट हुन सक्ने एमालेले जनाएको छ । कांग्रेसका तर्फबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गर्नुहुने र उहाँले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने लगभग टुंगो लागेको छ ।

त्यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने निश्चितजस्तै छ । कांग्रेसका तर्फबाट आरजु राणा देउवा, जीवन परियार, रामहरि खतिवडा, चन्द्र भण्डारी तथा अजय चौरसियालाई मन्त्री बनाउने विषयमा पनि छलफल चलिरहेको जनाइएको छ ।

यसैबीच, नेपाली कांग्रेसको शेखर कोइराला समूहले चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ । कोइराला समूहको आज भएको बैठकमा महामन्त्रीहरु गगन थापा वा विश्वप्रकाश शर्मा मध्येबाटै सरकारको नेतृत्व गरेर जानुपर्नेबारे पनि छलफल भएको थियो ।

एमालेका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम निश्चित भइसकेको नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्रीसहित ९ वटा मन्त्रालय पाएको एमालेमा मन्त्रीको टुंगो लगाउने जिम्मा भने अध्यक्ष ओलीलाई दिइएको छ ।

यो पनि...

सत्तामा ठूला दल : के-के छन् चुनौती ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement