४५औं प्रधानमन्त्रीमा केपी ओली

असार ३०, २०८१ |विकास आचार्य
४५औं प्रधानमन्त्रीमा केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । यसअघि तीनपटक प्रधानमन्त्री भइसक्नुभएका ओली नेपाली कांग्रेससँगको गठबन्धनबाट चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज (आइतबार) संविधानको धारा ७६ को २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि (सोमबार) बिहान ११ बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

संसद्को ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपति समक्ष संविधानको धारा ७६ को २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । चौथोपटक प्रधानमन्त्री बन्नुभएका ओलीलाई राष्ट्रपति पौडेलले सोमबार शपथग्रहण गराउनुहुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

ओली पहिलोपटक २०७२ सालमा संविधान जारी भएपछि प्रधानमन्त्री बन्नुभएको थियो । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय ओली देशको ४५औं प्रधानमन्त्री बन्नुभएको हो ।

संसद्को दोस्रो दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता ओली पहिलो दल नेपाली कांग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ २०७२ असोज २५ गते पहिलोपटक, २०७४ फागुन ३ गते दोस्रोपटक र २०७८ वैशाख ३० गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको थियो ।

२००८ फागुन ११ गते तेह्रथुममा जन्मिनुभएका ओलीको स्थायी बसोबास शरणामती ६, झापामा छ । त्यहीँबाट सक्रिय राजनीतिमा होमिनुभएका ओली झापा विद्रोहकालीन एक मात्र जीवित नेता हुनुहुन्छ । ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आउनुभएको छ । वाकपटुतायुक्त ओली लोकतान्त्रिक आन्दोलनका क्रममा १४ वर्षभन्दा बढी जेलनेल भोगेका नेता हुनुहुन्छ ।

२०४६ सालमा बहुदलीय व्यवस्था स्थापनायता २०४८ सालदेखि भएका संसदीय निर्वाचनमा लगातार निर्वाचित उहाँले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा भने पराजय बेहोर्नुपयो । त्यसयता पनि उहाँ लगातार निर्वाचित जनप्रतिनिधि हो ।

२०६५ फागुनमा भएको पार्टीको आठौं महाधिवेशनमा अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग पराजित उहाँ नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै पार्टी नेतृत्वमा पुग्नुभयो । दशौं महाधिवेशनबाट पनि उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । २०७४ सालको आमनिर्वाचनमा एमाले र नेकपा माओवादीबीच गठबन्धन गराउनेदेखि २०७५ सालमा पार्टी एकीकरण गरि नेकपा बनाउन दुई नेताहरु केपी ओली र पुष्पकमल दाहालको भूमिका थियो ।

तीन वर्ष करिब दुईतिहाइको नेकपाको सरकार चलाएपछि दुई शीर्ष नेताबीचको आन्तरिक कलहले पार्टी पूर्ववत् अवस्थामा त फर्कियो नै २/२ पटक ओलीले संसद् विघटन गर्नुभएको थियो । यही कलहबीच एमालेका शीर्ष दुई नेता पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभयो ।

पार्टी विभाजनपछि भएको चुनावमा ओली नेतृत्वको एमाले दोस्रो स्थानमा आइपुगेको थियो । अब ओलीले विगत तीन वर्ष शासन सञ्चालन गर्दा सुरु गरेका तर अधुरो रहेका काम सम्पन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । योसँगै विगतमा भएका गल्ती सच्याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र सहमतिमै संविधान संशोधन गर्ने दायित्व उहाँको छ । त्यति मात्र नभएर एमाले चुनावका बेला गरेका घोषणा पूरा गर्ने मौका ओलीकै काँधमा आएको छ ।

यो पनि...

सत्तामा ठूला दल : के-के छन् चुनौती ?

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement