मधेशका मुख्यमन्त्री सिंह ‘महामूर्ख’ उपाधिबाट सम्मानित

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेशका मुख्यमन्त्री सिंह ‘महामूर्ख’ उपाधिबाट सम्मानित

धनुषा । यस वर्षको महामूर्खको उपाधिबाट मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सम्मानित हुनुभएको छ । मिथिला नाट्यकला परिषद्ले ऐतिहासिक राममन्दिरको प्राङ्गणामा आयोजना गरेको होरी महोत्सव तथा महामूर्ख सम्मेलनमा महामूर्खको उपाधिबाट मुख्यमन्त्री सिंहलाई सम्मानित गरिएको हो । 

मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मुख्यमन्त्री सिंहलाई सिमला मिर्च, तरुलको माला लगाएर यस वर्षको महामूर्खको उपाधि दिनु भएको हो । कार्यक्रममा साहित्यकार सियाराम झा (सरस)लाई पटमूर्ख, नेपाल बार एसोसिएसन धनुषाका अध्यक्ष विमलकुमार मिश्रलाई वैशाख नन्दन, डा. पिंकी मण्डललाई गण पसारैन, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहलाई लोढा शंकर लगायतका उपाधिहरूबाट सम्मानित गरिएको छ । 

मानपदवी पाएकाहरूले भान्टा, भेंडेखुर्सानी, मेवा, सखरखण्ड, तरुल, मुला, काउली लगायतका तरकारीको माला हाँसी हाँसी सहर्ष स्वीकार गरेका थिए । कार्यक्रममा कविहरूले नेता, सांसद, प्रहरी प्रशासनहरूमाथि चोटिला व्यङ्ग्य प्रहार गरेका थिए । 

मिथिलाको परम्परागत लोकबाजा डम्फा, मनजिरा, हारमोनियम, ढोलक र झ्यालीको तालमा गाइएको जोगिरामा दर्शकहरू झुमेका थिए । होरीमा बढदै गएको विकृति निर्मूल गर्न तथा भाइचारा बढाउने उद्देश्यले मिथिला नाट्यकला परिषद्ले विगत २९ वर्षदेखि होलीको अवसरमा जनकपुरधाममा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement