झापा । एकै महिना झापामा दुई तथा सुनसरी, मोरङ र पाँचथरमा एक-एक गरी पाँच वटा गोल्डकप प्रतियोगिता आयोजना भए । मेचीनगर गोल्डकप र पाँचथर गोल्डकपको उद्घाटन र फाइनल खेल तालिका त एकै दिन पर्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिका व्यवस्थित गर्न नसक्दा क्लबलाई सहभागितामा झन्झट भएको त छ नै खेलाडीले पनि दौडधुप हुँदा आराम समेत गर्न पाएका छैनन् । कति क्लबले एकै दिन दुई खेल खेल्दै छन् । अव्यवस्थित मैदानका कारण खेलाडीले चोटको समस्या पनि झेल्नुपरेको छ ।
कुनै समय नेपालमा खेलकुद प्रतियोगिता नै हुँदैनन् । तर यो एक महिनाको बीचमा पाँच वटा गोल्डकप भए । फागुन ३ देखि १० गते इटहरी गोल्डकप, ७ देखि १६ भद्रपुर झापा गोल्डकप, १९ देखि २८ गते विराट गोल्डकप, फागुन २४ देखि चैत २ गतेसम्म मेचीनगर र पाँचथर गोल्डकप प्रतियोगिता भए । यसबीचमा मच्छिन्द्र क्लबले गत बुधबार पाँचथर गोल्डकप खेलेर बिहीबार नै मेचीनगर गोल्डकप खेल्यो ।
गोल्डकप नेपाली फुटबल खेलाडीको आम्दानीको स्रोत भए पनि उनीहरू कमजोर मैदानमा खेल्न बाध्य छन् । त्यसमाथि खेलाडीलाई आरामको समय पनि छैन । एन्फाले क्यालेन्डर व्यवस्थित नगर्दा खेलाडी र क्लबले सहभागी हुने र नहुने प्रतियोगिता नै छुट्याउन नसक्ने अवस्थामा छन् । खेलाडीका लागि २ खेलबीच ७२ घण्टा आराम चाहिन्छ । तर खेलाडी तथा क्लबले दैनिक खेल्नु पर्ने बाध्यता बन्दै छ ।
चर्च बोइज युनाइटेडले फागुन २४ गते विराट गोल्डकप खेलेर २५ गते मेचीनगर गोल्डकप खेल्यो । पुनः २६ गते विराट गोल्डकपमा फर्कियो । २८ गते विराट गोल्डकप खेलेर आधा खेलाडी पाँचथर गोल्डकप खेल्न उकालो लागे भने आधा मेचीनगर खेल्न झापामा बसे । २९ गते एकै दिन चर्च बोइजले मेचीनगर र पाँचथर दुई ठाउँ खेल्नुपर्ने अवस्था आयो । मच्छिन्द्र एफसीको अवस्था पनि यस्तै रह्यो । एन्फाको खेल तालिकाले समस्या ल्याएको प्रशिक्षकको भनाइ छ ।
ठूला प्रतियोगिता र लिग सञ्चालन नहुँदा खेलाडी बेरोजगार जस्तै हुन्छन् । मोफसलका गोल्डकपमा दैनिक जसो खेल्नु खेलाडीको बाध्यता हो । लगातार प्रतियोगिता खेल्दा प्रदर्शनमा ह्रास आउने खेलाडी स्वीकार्छन् ।
एन्फाले मोफसलका गोल्डकप प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउन सकेको छैन । यस्ता प्रतियोगितालाई श्रेणीगत विभाजन गरी स्थायी संरचना बनाए फुटबलको विकासमा महत्त्वपूर्ण हुनेछ ।