संसदमा प्रधानमन्त्रीको जवाफ : कर्मकाण्डी नीति कार्यक्रममा राष्ट्रिय सहमति छ !

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
संसदमा प्रधानमन्त्रीको जवाफ : कर्मकाण्डी नीति कार्यक्रममा राष्ट्रिय सहमति छ !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको नीति कार्यक्रम विगतकै जस्तो परम्परागत र कर्मकाण्डी भएको स्वीकार गरेका छन् । संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने– ‘यसमा हाम्रो राष्ट्रिय सहमति छ ।’

विपक्षीले अहिलेको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेकोप्रति टिप्पणी गर्दै प्रधानमन्त्री दाहालले यसलाई विगतकै जस्तो मान्ने हो भने विगतका नीति कार्यक्रमलाई पनि कर्मकाण्डी मान्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘जो माननीयले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गर्नु भयो । यो एक प्रकारले कर्मकाण्डी पनि हो । कयौं आधारभूत कुरा, पोहोरको सरकारले ल्याउने कुरा पनि यस्तै हुन्थ्यो । कयौं कुरा पराहार सालको सरकारले ल्याउने कुरा पनि यस्तो हुन्थ्यो ।’

तर, आफ्नो सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम फरक सन्दर्भसहित केही मौलिक प्रकृतिको भएको दाबी गरे । यो नीति तथा कार्यक्रम गठबन्धन दलहरुको सम्झौताका रुपमा पनि आएको र न्यूनतम साझा कार्यक्रममा समेत आधारित भएको बताए ।

यो नीति तथा कार्यक्रमलाई नकारात्मक रुपमा मात्रै हेर्न नमिल्ने र यसमा सबैको सामुहिक प्रतिनिधित्व रहेको बताए । अहिलेको न्यूनतम साझा कार्यक्रममा विगतमा एमाले–माओवादी गठबन्धनका बेला बनेको कार्यक्रमलाई समेत समेटिएको हुँदा सहमतिको दस्तावेज बन्न सक्ने दाहालले दाबी गरे ।

प्रधानमन्त्री दाहालले शान्ति प्रकृयालाई पूर्णतामा पुर्याउन र आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । दलहरुका कमजोरीको कारणले जनतामा निराशा बढिरहेको प्रधानमन्त्री दाहालले बताए । यसले गर्दा देश अराजकता र अप्ठ्यारोतिर जाने चिन्ता बढेको बताए । यसमा गणतन्त्रका प्रमुख सहयात्रीहरु गम्भीर हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले औंल्याए ।

मुलुकमा व्याप्त भ्रष्टाचार र विकृतिविरुद्ध सामुहिकरुपले अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालले बताए ।

सम्बन्धित समाचार...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो !

पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गर्नेछ : प्रधानमन्त्री

ओलीलाई विश्वप्रकाशको जवाफ : भुटानी शरणार्थी प्रकरणमा निर्दोष छुट्याउने हामी न्यायाधीश होइनौं

नीति तथा कार्यक्रमबारे सांसद चौधरीको टिप्पणी : छोराछोरी जन्माइसकेपछि जन्माउनेबारे छलफल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.