काठमाडौं । अखिल नेपाल फुटबल संघ– एन्फाका पदाधिकारीमाथि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानपछि एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डे पक्राउ परेका छन् । एन्फाका बाँकी केही पदाधिकारीमाथि समेत सीआईबीको नजर छ।
अहिले सीआईबीले के-के विषयमा अनुसन्धान गरिरहेको छ त ?
प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो- सीआईबीले तीन दिनअघि एन्फामा छापा मार्यो। त्यहाँबाट कागजात हात पारेको ब्युरोले राति अबेरसम्म पनि एन्फाकै प्यारापिटमा राखेर कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेसँग सोधपुछ गरेको थियो।
ब्युरोका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका दुवै जनामाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसूरमा अनुसन्धान सुरु भएको छ । जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ।
जबराका अनुसार यो अवधिमा थप बयान लिने, सोधपुछ गर्नेलगायतका काम हुनेछन् । बयानबाट खुल्न आउने कतिपय व्यक्तिलाई समेत छानबिनको दायरामा ल्याउने प्रहरीको तयारी छ । एन्फामा अनियमितता भएको भन्दै लामो समयदेखि प्रश्न उठिरहेको थियो ।
यो मामिलामा छानबिन गरिदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी परेको थियो । केही वर्ष पहिले संसद्को सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो । २२ पुस २०७५ मा उजुरी परेका बेला अख्तियारले खेलकुद मन्त्रालयलाई छानबिन गर्न भन्दै पत्राचार गरेको थियो ।
त्यसबेला मन्त्रालयका सहसचिव अरुणप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति बनेको थियो । अनुसन्धानमा सहभागी एक अधिकृतका अनुसार विगतमा आरोपितहरुलाई जोगाउने काम भएको भन्दै पछिल्लो समय फेरि उजुरी परेपछि ब्युरोले अनुसन्धान थालेको हो ।
ब्युरोमा राष्ट्रिय खेलकुद परिषद्सँगै अर्को एउटा जाहेरीसमेत आएको थियो। अनुसन्धानकै क्रममा शुक्रबार ललितपुरस्थित संघको कार्यालयमा छापा मारेर प्रहरीले कार्यालयबाट ल्यापटप, चारवटा सीपीयूलगायतका विद्युतीय उपकरण बरामद गरेको छ।
प्रारम्भिक जाँचमा फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट खेल अन्तर्गतको ‘होम एन्ड अवे’ खेल नेपालमा नगराएर समेत अनियमितता गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जनाएका छन् ।
नेपाल र बहराइनबीच भएको खेल एउटा नेपाल र अर्को बहराइनमा हुनुपर्ने फिफाको नियम छ। तर, दुवै खेल बहराइनमा खेलाइएको थियो। दुवै खेल बहराइनमा गराउँदा आर्थिक चलखेलसमेत भएको दाबी अनुसन्धान अधिकृतहरुको छ । एन्फाका पदाधिकारीहरुले काठमाडौंको दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि एसियाली फुटबल महासंघले नै खेल नेपालमा गराउन अयोग्य हुने ठहर गरेको जिकिर गरेका छन् ।
दुवै खेल बरहाइनको ‘नेसनल स्टेडियम’मा भएको थियो । बराइनमा भएको पहिलो खेलमा नेपाल ५–० ले पराजित भएको थियो । त्यसअघि नेपालले पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० ले पराजित भएको थियो । नेपालमा हुनुपर्ने खेल पनि बहराइनमै भएका बेलासमेत नेपाल ३-० ले पराजित भएको थियो ।
एन्फाका अधिकारीहरुमाथि जर्सी र प्लेइङ किटमा समेत अनियमितता गरेको आरोप छ । त्यसैले ब्युरोले केल्मी र केटीएम सिटी दुवै ब्रान्डका कपडा खरिदको विषयमा समेत जाँच गरिरहेको छ। यससँगै ब्युरोले २०२६ को विश्वकपको टिकट बिक्रीमा भएको अनियमितताबारे परेको उजुरीबारे पनि अध्ययन गरिरहेको छ।
गौरव पोखरेलको रिपोर्ट