पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गर्नेछ : प्रधानमन्त्री

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिरको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र त्यसमा सरकारको सहयोग रहने बताएका छन् ।

पशुपतिको जलहरीमा प्रयोग भएको सुनबारे संसदमा उठेको प्रश्नको शनिबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवेदन परी छानबिन अनुसन्धान भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहने छ ।’

जलहरीबारे संसदमा प्रश्न उठे पनि सो पशुपति विकास कोषको रहेको प्रधानमन्त्री दाहालले बताए । उनले संसदमा भने, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो र सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन ।’

संसदमा आफ्नै पार्टीका सांसद लेखनाथ दाहालले जलहरीको विषयमा संसदमा बोलेको विषयलाई रेकर्डबाट हटाउन सकिने प्रधानमन्त्री दाहालले जनाउ दिए । उनले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’

प्रधानमन्त्री दाहालले नीति कार्यक्रम सम्बन्धी प्रश्नहरुको जवाफ दिने कार्यक्रम अघि नै एमालेलाई आश्वस्थ पार्न जलहरीबारे संसदबाट बोलेका हुन् । बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेले गरेको माग अनुसार प्रधानमन्त्रीले जलहरीबारे संसदको रेकर्डमा रहेको अभिव्यक्ति हटाउन प्रधानमन्त्रीले संकेत गरे । 

जलहरीसँगै स्वास्थ्य सामग्रीको भ्रष्टाचारसम्बन्धी भनाइ पनि हट्यो

प्रधानमन्त्रीले जलहरीसम्बन्धमा केपी ओलीसँग जोडिएको अभिव्यक्ति हटाउन संकेत गरेलगत्तै सभामुख देवराज घिमिरेले सचिवालयलाई जलहरीका साथै स्वास्थ्य सामग्री खरीद सम्बन्धी अभिव्यक्तिसमेत हटाउन निर्देशन दिए ।

सभामुखले भने, ‘माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारहरुभित्र स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु ।’    

सम्बन्धित समाचार...

जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.