ओलीलाई विश्वप्रकाशको जवाफ : भुटानी शरणार्थी प्रकरणमा निर्दोष छुट्याउने हामी न्यायाधीश होइनौं

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
ओलीलाई विश्वप्रकाशको जवाफ : भुटानी शरणार्थी प्रकरणमा निर्दोष छुट्याउने हामी न्यायाधीश होइनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा दिएको अभिव्यक्तिप्रति विमति राखेका छन् । यसअघिको बैठकमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिलाई निर्दोष भनेर न्यायाधीशको काम गरको आरोप लगाए ।

‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेताले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको छ भनेर उल्लेख गर्नुभयो । यही रोस्टममा उभिएर भन्नुभयो । को दोषीको को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ,’ महामन्त्री शर्माले भने, ‘हामी न्यायाधीश होइनौं यहाँबाट फैसला सुनाउन । यहाँबाट यो दोषी यो निर्दोष भन्ने कुरामा मेरो विमति छ ।’

महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सरकारले भ्रष्टारको फाइल खोलिरहेको बेला समर्थन फिर्ता लिने कदम उचित नभएको बताए । उनले भने, ‘यो समय सरकारलाई साथ दिने समय हो । भ्रष्टाचारको फाइल सरकाले खोलेको बेला बधाई छ सरकार भन्ने हो । यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि सरकारलाई समर्थन गर्ने समय हो । सरकारलाई दिएको समय फिर्ता लिने समय होइन ।’

यस प्रकरणमा छानबिन निष्पक्षरुपमा हुनुपर्ने र यो प्रकरणमा आवेगमा आउन जरुरी नरहेको उनको भनाइ छ । उनले अगाडि थपे, ‘नेपाली कांग्रेसका नेता पहिला पनि भ्रष्टाचारको मुद्दामा जेल पर्नुभयो अहिले पनि मुद्दाको सामना गरिरहनु भएको छ । न पहिले हामीले उहाँहरुलाई निर्दोष भन्यौं न अहिले ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.