दाहाललाई विश्वासको मत लिनभन्दा सत्ताको भागबन्डा मिलाउन सकस (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |पर्वतराज घिमिरे|दीपक आचार्य
दाहाललाई विश्वासको मत लिनभन्दा सत्ताको भागबन्डा मिलाउन सकस (भिडियो रिपोर्ट)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनले साढे दुई महिनाको बीचमै दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । राजनीतिक रुपमा कुनै अनपेक्षित घटना नभएमा दाहालले त्यही दिन विश्वासको मत पाउनेछन् । तर एमालेसँगको गठबन्धन भत्किएपछि बनेको नयाँ समीकरणमा सत्ताको भागबण्डा भने दाहालका लागि अप्ठ्यारो हुने देखिन्छ । अझ विश्वासको मत दिने दलहरुले राख्ने सर्त पूरा गर्नसमेत उनलाई सजिलो छैन ।

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक विश्वासको मत लिँदा २७० सांसद उपस्थित थिए । तीमध्ये २६८ जनाले दाहाललाई समर्थन गरे । अहिले त्यो समीकरण परिवर्तन भएको छ । दाहालको पक्षमा ठूलो दल नेपाली कांग्रेस खुलेरै लागेको छ ।

यस्तै जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि दाहाललाई विश्वास गर्ने तयार छन् । त्यही कारण उनलाई संसद्‌बाट विश्वास पाउन कठिन छैन । तर, मन्त्रालयको भागबन्डा र विश्वासको मत दिने दलका सर्त सम्बोधन गर्न भने जटिल छ । कांग्रेसले गृह, अर्थलगायत कम्तिमा आठ मन्त्रालयमा दाबी गरेको छ ।

विगतमा अर्थ र गृह दुवै अरु दललाई दिएको भन्दै दाहालको पार्टीभित्र चर्को आलोचना भएको थियो । अहिले पनि दाहाललाई यो विषय मिलाउन सजिलो छैन । त्यसबाहेक जनता समाजवादी र एकीकृत समाजवादीको माग पनि सम्मानजनक शक्ति बाँडफाँट भन्ने नै छ । राष्ट्रिय स्वतन्त्र पार्टी सर्मथनका लागि केही सर्त राख्न खोज्दै छ, जुन शक्ति बाँडफाँटमै केन्द्रीत हुनेछ । अर्कोतर्फ नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइसम्मका सर्त राख्ने बताउँदै आएको छ । यसरी धेरै दललाई चित्त बुझाउन दाहाललाई सहज छैन ।

दाहाल नेतृत्वको सरकार जोगाउने जिम्मेवारी सदनको पहिलो दलको हैसियतले कांग्रेसमा पनि छ । तर उसले बढीभन्दा बढी शक्ति आफ्नो भागमा पार्ने प्रयास गरिरहेको छ । किनकि कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै छन् । त्यति हुँदाहुँदै पनि गठबन्धन जोगाएर जानुपर्नेमा कांग्रेसमा एकमत छ ।

विश्वासको मत पाएर सरकारलार्इ पूर्णता दिएपछि पनि दाहाललार्इ बहुमत जोगाइ राख्न चुनौती छ । सामान्य विषयमा मतभेद आउँना साथ अल्पमतमा पर्न सक्ने अवस्था आउँछ । त्यसैले पनि धेरै विषयमा सम्झौता गरेर अगाडि बढ्नुको विकल्प देखिँदैन । 

सम्बन्धित समाचार...

प्रधानमन्त्रीले भने- उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ
विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री (भिडियोसहित)
राजनीतिक समीकरण परिवर्तनको असर सरकारदेखि सदनसम्मै (भिडियो रिपोर्ट)
गगन थापाले भने- वर्तमान सरकारमा म मन्त्री बन्दिनँ


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।