डीएनए म्याच भएपछि शव कसरी पाउँछन् आफन्तले ?

भाद्र २३, २०८३ |नारायण किलम्बू
डीएनए म्याच भएपछि शव कसरी पाउँछन् आफन्तले ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार शव पहिचानका लागि डीएनए परीक्षण गर्न काठमाडौंमा प्रहरी अस्पताल, जिल्ला प्रहरी कार्यालय वा प्रहरीले तोकेको स्थानमा रगतको नमुना संकलन भइरहेको छ । 

स्वदेशबाहेक विदेशबाट समेत परिवारजनले डीएनए परीक्षण गराएर पठाउन सक्नेछन् । डीएनए परीक्षणपछि भेटिएका शवको पहिचान हुनेछ भने त्यसपछि आफन्तले पाउन सक्नेछन् ।

तर कसरी ? डीएन परीक्षणको रिपोर्ट आइसकेपछि शव आफन्तले पाउने प्रक्रिया के हो ?

धमाधम शव भेटिने तर पहिचान गर्न समस्यापछि तिनको व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ संशोधन गर्यो । यही निर्देशिका बमोजिम शव भेटिएका जिल्लामै जमिनमुनि व्यवस्थापन गर्न थालियो ।

तर, शव त्यत्तिकै व्यवस्थापन गरिएका छैनन् । शवसँगै भेटिएका कपडा तथा अन्य सामानको विवरण संकलन गरी कानुनी प्रक्रिया पूरा गरेर मुचुल्का तयार गरिन्छन् । तिनको अनिवार्य रुपमा डीएनए नमुना संकलन गरिन्छन् र प्रत्येक शवको फोटो खिचि शवको अनुहार तथा हातमा रहेका ट्याटु, चोटपटक तथा अन्य विशेष चिन्हको अभिलेख राखिन्छ र प्रत्येक शवलाई छुट्टै पहिचान नम्बर दिइन्छ ।

कुन शव कहाँ गाडिएको हो भन्ने पत्ता लगाउन प्रत्येक शवको पहिचान नम्बर नबिग्रने गरी धातुको प्लेटमा लेखेर सँगै राखिन्छ । शव व्यवस्थापनको काम चलिरहँदा सरकारले सम्पर्कविहीन भएकाहरुका परिवारको डीएनए परीक्षणका लागि पनि रगतको नमुना संकलन गरिरहेको छ ।

यसका लागि बेपत्ता व्यक्तिको रगतको नाता भएका बुबाआमा छोरा वा छोरीको रगतको नमुना संकलन गरिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रहरी अस्पताल महाराजगञ्जबाहेक जिल्ला प्रहरी कार्यालय वा प्रहरीले तोकेका स्थानमा रगतको नमुना संकलन भइरहेका छन् ।

रगत दिन पासपोर्ट साइजको दुईप्रति फोटो आवश्यक पर्छ । प्रहरी अस्पतालले आइतबारसम्ममा ९ सय २८ आफन्तहरुको रगतको नमुना संकलन भएको जनाएको छ । जसमध्ये भारत, बेलायत, युक्रेन, चीन, दक्षिण कोरिया, अमेरिका, इजरायलसहितका ४३ विदेशी पनि छन् ।

हराइरहेका व्यक्तिका विदेशमा रहेका बुबाआमा या छोराछोरीले समेत डीएनए परीक्षण गर्न सक्नेछन् । त्यसका लागि उनीहरुले विदेशमै डीएनए प्रोफाइलिङ गराउन सक्नेछन् र त्यसको सफ्ट कपी नेपाल प्रहरीको इमेल डीएनएसीओडीआइएस एट नेपालपुलिस डट जीओभी डट एनपीमा पठाउन सक्नेछन् ।

डीएनएका लागि नमुना संकलनपछि अब के हुन्छ त ?

संकलित नमुना अर्थात् रगतलाई प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गरिन्छ । सामान्यत: परीक्षणको रिपोर्ट आएर शवको डीएनएसँग म्याचिङ गर्न कम्तीमा एक महिना लाग्छ । तर, यो बेला कति समय लाग्छ भन्न सकिने अवस्था छैन ।

डीएनए परीक्षणपछि प्राप्त रिपोर्ट प्रहरीसँग रहेको शवको डीएनएसँग म्याचिङ भएपछि शव हस्तान्तरण गर्ने प्रक्रिया सुरु हुन्छ । डीएनए परीक्षण वा अन्य प्रमाणका आधारमा पहिचान खुलेमा शव गाडिएको स्थान पहिचान गरेर उत्खनन् गर्न सकिने व्यवस्था पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाले गरेको छ ।

जसअनुसार परिवारले आफ्नो धर्म संस्कृतिअनुसार सद्‍गत गर्न चाहेमा शव उत्खनन् गरेर लैजान सक्छन् ।

सम्बन्धित समाचार :

भोटेकोशी बाढी : डीएनए परीक्षणका लागि रगतको नमुना कहाँ र कसरी दिने ?


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।