
काठमाडौं । चेसको विश्वकपका रूपमा लिइने फिडे चेस ओलम्पियाडमा यसपटक नेपाली टोलीले सहभागिता जनाउँदैछ ।
उज्वेकिस्तानको समरकान्दमा सेप्टेम्बर १४ देखि २८ तारिखसम्म हुने ४६औँ फिडे चेस ओलम्पियाडका लागि नेपाली टोली अहिले अन्तिम तयारीमा जुटेको छ । पुरुष र महिलातर्फ समान पाँच पाँच गरी १० खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टोली सेप्टेम्बर १३ मा उज्वेकिस्तान प्रस्थान गर्ने तयारीमा छ । चेसको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरू अन्तिम तयारीमा छन् । उज्वेकिस्तानको समरकान्दमा हुने ४६औँ फिडे चेस ओलम्पियाडमा नेपालका तर्फबाट पुरुष र महिलातर्फ समान पाँच पाँच खेलाडीले सहभागिता जनाउँदैछन् ।
टोलीमा अधिकांश खेलाडीले पहिलो पटक ओलम्पियाड खेल्दैछन् । त्यसैले उनीहरूका लागि यो प्रतियोगिता अनुभवसँगै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि हो । पहिलो पटक ओलम्पियाड खेल्न लागेकी पूजा भण्डारी पनि प्रतियोगितालाई लिएर उत्साहित छिन् ।
नेपाली टोलीको प्रस्थानका लागि अब केही दिन मात्रै बाँकी छ । ओलम्पियाडको तयारीका लागि खेलाडीहरू पछिल्लो पाँच सातादेखि प्रशिक्षणमा छन् । प्रशिक्षण स्थलमा पुग्दा नेपाल चेस संघका पदाधिकारीहरू तयारीमा व्यस्त देखिन्थे । सरकारबाट आर्थिक सहयोग नपाए पनि संघले आफ्नै तर्फबाट टोलीलाई सक्दो सहयोग गरिरहेको नेपाल चेस संघका अध्यक्ष हेराकाजी महर्जन बताउँछन् ।
नेपालबाट पुरुषतर्फ नेपाल च्याम्पियन रुपेश जैसवालसँगै आशिष फुयाल, राजन सुवेदी, सुश्रृत दाहाल र पुरुषोत्तम सिलवालले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशी टोलीमा छन् ।
पुरुष टोलीलाई कजाखस्तानका प्रशिक्षक किरिल कुदेरिनोभले प्रशिक्षण दिइरहेका छन् भने महिला टोलीको प्रशिक्षण रिजेन्द्र राजभण्डारीले सम्हालिरहेका छन् । पुरुष टोलीका नेपाल च्याम्पियन रुपेश जैसवाल फिडे मास्टरसमेत हुन् । उनले यसअघि चार पटक ओलम्पियाड खेलिसकेका छन् । तर, अघिल्लो संस्करणमा भिसासम्बन्धी समस्याका कारण हंगेरी पुग्न नसकेका रुपेश यसपटक भने टोलीसँगै ओलम्पियाडमा फर्किँदैछन् ।
महिलातर्फ सिन्दिरा जोशीसँग पनि ओलम्पियाडको अनुभव छ । उनले यसअघि तीन पटक ओलम्पियाड खेलिसकेकी छन् । तर, सिन्दिराबाहेक नेपाली महिला टोलीका अन्य सबै खेलाडी पहिलो पटक चेस ओलम्पियाडमा सहभागी हुँदैछन् । यसकारण पनि नेपाली टोलीका लागि यसपटकको ओलम्पियाड अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफूलाई परीक्षण गर्ने अवसर बनेको छ ।
कजाखस्तानका प्रशिक्षक किरिल कुदेरिनोभको प्रशिक्षणमा रहेको नेपाली टोलीले पाँच सातादेखि नियमित तयारी गरिरहेको छ । प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन र तयारी सन्तोषजनक रहेको प्रशिक्षक कुदेरिनोभ बताउँछन् ।
फिडे चेस ओलम्पियाड हरेक दुई वर्षमा आयोजना हुन्छ । तर, दुई वर्षअघि हंगेरीमा भएको ४५औँ ओलम्पियाडमा नेपाली टोलीले भिसा समस्याका कारण सहभागिता जनाउन सकेको थिएन । त्यसैले यसपटक नेपाली टोलीका अधिकांश खेलाडी पहिलो पटक ओलम्पियाडको बोर्डमा बस्दैछन् ।
अनुभवको कमी चुनौती भए पनि राम्रो तयारी, विदेशी प्रशिक्षकको प्रशिक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसरले नेपाली चेसलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।