गगन थापाले भने- वर्तमान सरकारमा म मन्त्री बन्दिनँ

फाल्गुन २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
गगन थापाले भने- वर्तमान सरकारमा म मन्त्री बन्दिनँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने जनाएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने जनाए । उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा काम हेर्ने जनाए । सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जाने उनको भनाइ छ ।

‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरु मैले कांग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्‌मा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो,’ उनले भने, ‘म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिनँ । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ ।’

महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने जनाए । नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाटै आलोपालो प्रधानमन्त्री अभ्यास रहे पनि सरकारले नागरिकलाई सेवा-सुविधाहरु दिन सक्नुपर्ने उनको भनाइ छ ।

‘व्यक्तिकै कुरा गर्ने हो भने पनि आखिर नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाटै आलोपालो प्रधानमन्त्री हुने हो । त्यसमा पनि अहिले नयाँ स्वाद आइहाल्छ भनेर अनुमान लगाउने कुरा पनि भएन । त्यसैले नागरिकलाई अहिले भएको राजनीतिक घटनाक्रमको विकासले कति धेरैलाई छुन सकेका छौं भन्ने यो प्रश्न हामीले सोच्नुपर्छ,’ उनले भने, ‘यो गठबन्धनले एक ठाउँमा रहेर हामीसँग ५ वर्ष छ, ५ वर्ष हामीले सरकार चलाउँछौं, ५ वर्षको डेलिभरिको जिम्मा हाम्रो हो, यसमा हमीले डेलिभरी गर्न सकेनौं भने त्यसको दण्ड सजाय हमी भोग्न तयार छौं ।’

महामन्त्री थापाले सरकारसँग पाँच वर्षमा जनताको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने जनाए । प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने उनको भनाइ छ ।