काठमाडौं । एक वर्षअघि आजकै दिन सुशासन माग लिएर सडकमा उत्रिएका युवाहरुमाथि भएको दमनले दिएको घाउ सुकेको छैन।
जेन-जी आन्दोलनकारीमाथि दमनमात्र भएको होइन, भदौ २३ गतेमात्रै १९ जनाको ज्यान गयो। राज्यले २३ र २४ गते ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्यो। अरु धेरै युवाहरु घाइते छन्। कतिपय अझै अस्पतालमै छन्। तर, आन्दोलनमा उठेका माग कति पूरा भयो ?
सहिदका परिवार, घाइते र उनीहरुका आफन्तसँग कुरा गर्दा गुनासो र असन्तुष्टिमात्रै सुनिन्छ। कान्तिपुरका पत्रकार समर्पण श्रीले भेटेका धेरै घाइते र शहिदका परिवारसँग सरकारसँग गुनासो र प्रश्नमात्रै छन्।
काठमाडौंको कालिमाटीस्थित स्पार्क केयर हेल्प अस्पतालको बेडमा पल्टिरहेका सर्लाहीका राकेश महतो । उनको एउटै सपना छ: ‘जुरूक्क उठ्ने अनि, अनि टुकुटुकु हिँड्ने । भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सडकमा उत्रिएका उनी प्रहरीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि उनी अस्पतालको शय्यामै छन् ।
सरकारले ‘खोलो तरेपछि लौरो बिर्सिएको’ जस्तो गरिरहेको महसुस सहिद तथा घाइतेका परिवारले गरिरहेका छन्। छातीमा गोलीको गहिरो घाउ बोकेर हिँडेका काभ्रेका कमल घिमिरेलाई घाउको दुखाइ सहने बानी परिसक्यो। ‘डाक्टरले पनि बाँच्दैन भनेको मान्छे बाँचेकाले होला, घाउ दुख्दैन, तर मन दुखिरहेको छ ।
कपनमा डेरा गरी बस्ने उदयपुरकी अम्बिका विकले जेन-जी आन्दोलनमा श्रीमान गुमाइन् । दुई महिनाअघि विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा करार सेवामा काम त पाइन् तर पर्याप्त सेवा-सुविधा छैन, त्यसमाथि मानसिक पीडा आफ्नै ठाउँमा छ ।
सहिद विनोद महर्जनका दाइ काजीरत्न महर्जन भाइ गुमाएकोमा सर्वस्व गुमेको बताउँछन् । घरको खम्बा नै गुमाएको पीडा वयान गरी साध्य छैन । प्रकाश बोहरा, तिनै घाइते हुन् जसको जुत्ताको फोटो जेन-जी आन्दोलनको आइकोनिक तस्बिर बन्यो । अचेल वैशाखीको सहारामा हिँड्ने उनी जब नयाँ बानेश्वर पुग्छन्, झस्किहाल्छन् ।
२३ गतेको आन्दोलनमा खुट्टामा गोली लागेर घाइते भएका रवि भण्डारी अहिले केही काम गर्न सक्दैनन्। परिवर्तनका लागि आन्दोलनमा होमिए पनि अहिले उनलाई बाँच्नुको केही अर्थ छैन जस्तो लाग्छ । २४ गते खुट्टामा गोली लागेर घाइते भएकी अर्की पात्र हुन् - सविता भण्डारी ।
आन्दोलनले परिवर्तन हुन्छ भनेर उनी घरबाट निस्किएकी थिएन् । निस्कँदा आफ्नो दाइलाई भनिन्, म मरे भने मेरो छोरी हेरिदिनुहोला ।
सम्बन्धित समाचार :