राजनीतिक समीकरण परिवर्तनको असर सरकारदेखि सदनसम्मै (भिडियो रिपोर्ट)

चैत्र १, २०७९ |दीपक आचार्य
राजनीतिक समीकरण परिवर्तनको असर सरकारदेखि सदनसम्मै (भिडियो रिपोर्ट)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १२ मा राजनीतिक समीकरण परिवर्तन गरेसँगै सरकार र सदनको काम प्रभावित बनेको छ । पुस १० गते एउटा गठबन्धन बनाएर प्रधानमन्त्री बनेका दाहाल दुई महिनापछि नै अर्को गठबन्धन बनाएर अघि बढ्दै छन् । तर गठबन्धनमा भएको परिवर्तनका कारण उनले सोचेजस्तो काम भने गर्न सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत पुस १० गते एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दललाई मिलाएर प्रधानमन्त्री बने । उनले सबै राजनीतिक दलका भावना समेटेर सरकारको न्यूनतम् साझा कार्यक्रमसमेत बनाए, जुन पुस २५ गते सार्वजनिक गरे । तर राष्ट्रपतिको निर्वाचनसँगै दाहालले बनाएको गठबन्धन भताभुंग भयो ।

एमाले, राप्रपा, स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए । सरकारको नीति तथा कार्यक्रम अलपत्र पर्‍यो । अहिले प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयलको जिम्मेवारी आफैंले सम्हाल्नुपरेको छ । अब उनलाई कांग्रेससहितका अरु दललाई सरकारमा सहभागी गराउनु र विश्वासको मत लिनुपर्ने चुनौती छ ।

मन्त्रिपरिषद् विस्तारसँगै उनले सरकारका न्यूनतम् साझा कार्यक्रम पुनः परिवर्तन गर्नुपर्ने अवस्था आउँछ । १० वटा दलको गठबन्धन बनाएका दाहाललाई यस्तै काममा अल्झँदा जनताको भावना बुझ्न सकेका छैनन् । तर पनि माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्रीले सरकार र सदनका कामलाई प्रभावकारी बनाउन कुनै कसरत बाँकी नराख्ने दाबी गर्न छाड्दैनन् ।

प्रधानमन्त्री दाहालले तत्काल विश्वासको मत पाएको अवस्थामा पनि त्यो लामो समयसम्म कायम गर्न सहज देखिँदैन । अहिले नै प्रमुख प्रतिपक्षी को भन्ने टुंगो नलाग्दा सदनलाई लामो समय स्थगित गरिएको छ । जबकि यो समयमा संसद्को नियमावली टुङ्ग्याउनेलगायत काम गर्न सकिन्छ । यसरी फेरिएको राजनीतिले सरकार र सदन दुवैतर्फ असर देखिइसकेको छ ।

दाहाललाई सत्ताको नेतृत्व सुम्पिएको एमाले दुई महिनामै सरकारबाट बाहिरिनुपर्दा राजनीतिक रुपमा विक्षिप्त छ । एमाले कुनै पनि हालतमा अहिलेको समीकरण टुटाउनै तल्लीन छ । उसले सरकार र सदन दुवैलाई दबाबमा राख्ने मनस्थिति बनाइसकेको छ ।

त्यसो त विश्वासको मत लिएपछि सहज रुपमा अगाडि बढ्न सकिन्छ भन्ने मनसाय सरकारको देखिन्छ । तर विधेयक पेस गर्नेदेखि सरकारले लिने अन्य निर्णयलाई सहजै अगाडि बढाउन अहिलेको अंकगणितले साथ दिने देखिँदैन ।

सम्बन्धित समाचार...

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने
विश्वासको मत लिने तयारीमा दाहाल, उपराष्ट्रपतिको विषयले गठबन्धनमा समस्या
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच भागबन्डा, एमाले एक्लियो


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।