गृहमन्त्रीमाथि नै नागरिकताको प्रश्न

पुस ११, २०७९ |रमेश धमला|अञ्जना लामिछाने
गृहमन्त्रीमाथि नै नागरिकताको प्रश्न

काठमाडौं । नयाँ दल गठन गरेको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारको प्रभावशाली मानिने गृहसहित उपप्रधानमन्त्री बनेका छन् । राजनीतिमा रविको उदय जति आकस्मिक जस्तो लाग्छ, सत्ता लेनदेनका हिसाबले उनले पाएको पद झन् लोभलाग्दो मानिन्छ । तर रविले जुन मन्त्रालय लिए, त्यहीँ उनीविरुद्ध मुद्दा छ । नागरिकता र राहदानी सम्बन्धी विवादमा आफूविरुद्धको उजुरी बोकेर नयाँ गृहमन्त्रीले समग्र मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी कसरी सामना गर्लान् ? भन्ने प्रश्न उठेको छ ।

पुराना र मूलधारका दलको विकल्प खोज्न भन्दै ६ महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका सभापति लामिछानेले तिनै परम्परागत दलहरुसँग मिलेर उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी लिएका छन् । सञ्चारकर्मीका रुपमा चर्चा कमाएर राजनीतिमा होमिएका लामिछानेले छोटो समयमा जुन हैसियत पाए, यस्तो संयोग नेपाली राजनीतिमा कमैले पाएका छन्। गृहमन्त्रीको शपथ लिएसँगै उनको परीक्षणको समय पनि सुरु भएको छ ।

अब लामिछानेको सत्तारोहण मात्रै निगरानीमा परेको छैन, उनले लिएको मन्त्रालयमा समेत मत बाझिएको छ । उनले अमेरिका र नेपालको दोहोरो नागरिकता लिएको उजुरी गृह मन्त्रालयमै छ । सर्वोच्च अदालतमा मुद्दा चलिरहँदा गृह मन्त्रालयमा परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । जहाँ आफूविरुद्ध उजुरी र मुद्दा छ, त्यही मन्त्रालयको जिम्मेवारीलाई कसरी हेर्ने त ?

लामिछानेले मतदाता परिचयपत्रमा १८ हजार २२२ नागरिकता नम्बर उल्लेख गरेका छन् । जुन उनले अमेरिका जानुअगाडि नै लिएको नागरिकताको हो । उनी अमेरिकी नागरिक हुँदा नेपालको नागरिकता स्वत: खारेज भइसकेको थियो । लामिछानेले एकै समयमा दुई देशका राहदानी लिएको देखिन्छ । सन् २०१५ मा पुरानै उनले नानगरिकता नम्बर प्रयोग गरेर नेपाली राहदानी लिएका थिए । जब कि, अमेरिकी राहदानीको मिति २०१४ देखि २०२४ सम्म छ । २०१५ मा उनले नेपालको राहदानी लिएका हुन् । नेपालको राहदानी लिन उनले पुनः पुरानो नागरिकता ब्युँताएका हुन् ? अनुसन्धानको जड यसैमा जोडिएको छ । आफ्नै नागरिकता र राहदानीसम्बन्धी विवाद नटुंगिँदै त्यही मन्त्रालय सम्हाल्न पुगेका लामिछानेले नागरिकतासम्बन्धी विधेयक टुंग्याउनुपर्ने जिम्मेवारी कसरी पूरा गर्छन् ? यो अर्को प्रश्न हो ।

गृह मन्त्रालय आन्तरिक सुरक्षाको नेतृत्वकर्ता पनि हो । राजनीतिले जिम्मेवारी दिए पनि प्रहरीमाथिको राजनीतिक हस्तक्षेप, आन्तरिक सुशासन, बलात्कार, हत्या, सुन तस्करीमाथि प्रश्न गर्ने रविले त्यो जिम्मेवारी अब आफैंले सम्हाल्नुपर्नेछ । आफूमाथि उठेका प्रश्नको निष्पक्ष जवाफ र नागरिकको सुरक्षा कसरी गर्छन् ? त्यो अबको परीक्षा पनि हो । 

सम्बन्धित समाचार...

गृहमन्त्री बने रवि लामिछाने

नागरिकताका विषयमा रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान

रवि लामिछानेले विदेशी नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ?


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।