रवि लामिछानेले विदेशी नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ?

मंसिर १९, २०७९
रवि लामिछानेले विदेशी नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली बंशज नागरिक हुन् भन्नेमा शंका छैन । उनी नेपालमै जन्मेर हुर्केका बंशजका सन्तान हुन् । उनी हुर्केपछि पछि अमेरिका गए, सपरिवार उतै बसे । उतैको नागरिक बने । अमेरिकाकै नागरिकता लिए । उतैको पासपोर्ट लिए ।

अमेरिकी नागरिक बनिसकेपछि लामिछानेको नेपाली नागरिकता कानूनअनुसार स्वतः खारेज भयो । बंशज नेपाली नागरिक रहेका लामिछाने त्यसपछि गैरआवासीय नेपाली (एनआरएन) बने ।

विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनुपर्छ र देशमै केही इलम गर्नुपर्छ भन्ने भावना आम नेपालीमा पाइन्छ । युवाहरु विदेशिने प्रचलन रोकिनुपर्छ र स्वदेशमै बस्ने वातावरण बनाइनुपर्छ भन्ने नारा बारम्बार लाग्दै आएको छ । यो सन्दर्भमा रवि लामिछाने अमेरिकाबाट स्वदेश फर्कनु र देशमै केही गर्न खोज्नु सकारात्मक पक्ष हो । देशको बेथितिलाई सुधार्ने अभियान अन्तरगत राजनीतिमा लाग्नु र जनताको मन जित्नु झनै प्रशंसनीय कार्य हो ।

यसअर्थमा रवि लामिछानेले विदेशी भूमि त्यागेर स्वदेश रोजेकोमा उनको यो भूमिकालाई हामी सबैले सकारात्मक रुपमा लिनैपर्छ । उनीजस्तै युवाहरुलाई स्वदेश फर्कन हामी सबैले हौसला प्रदान गर्नैपर्छ । रविजस्तै धेरै नेपाली युवा स्वदेश फर्किए भने देशको विकास र समृद्धिमा मद्दत पुग्छ । देशको राजनीति र समाज बदल्न मद्दत पुग्छ ।

तर, हाम्रो देशका केही कानूनी प्रावधानहरु छन्, तिनलाई पालना गर्नु हरेक सभ्य नागरिकको कर्तव्य हुन जान्छ । जति नै लोकप्रिय मानिस किन नहोस्, उसले राज्यका कानून र नीति नियमहरुको पालना गर्नैपर्ने हुन्छ । विद्यमान कानूनलाई पालना गरिएन भने यसले अराजकतालाई प्रश्रय दिन्छ । त्यसैले कानून अनुसार चल्ने कुरा रवि लामिछानेको हकमा पनि उत्तिकै लागु हुन्छ ।

अहिले रवि लामिछानेको नागरिकताका विषयमा प्रहरीमा जे उजुरी परेको छ, त्यसको सही ढंगले छिनोफानो हुन जरुरी छ । नेपाली आमाको छोरो रविले पनि न्याय पाउनुपर्छ र कानूनको पालना पनि हुनुपर्छ । मूलतः विदेशबाट केही गर्छु भनेर स्वदेश फर्केको युवालाई राज्यले हतोत्साहित गर्नुहुँदैन । तर, त्यसरी फर्कने व्यक्तिले पनि नेपालको कानूनलाई सम्मान गर्नुपर्दछ । लोकप्रियताको आडमा कानूनको सम्मान गरिएन भने राजनीतिमा नयाँ थिति बसाउन सकिँदैन ।

के हो रविको नागरिकता विवाद ?

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा रहेको अभिलेख अनुसार रवि लामिछाने २०३२ साल जेठ २८ गते काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ मा जन्मेका हुन् । उनको नागरिकता नम्बर १८*** हो । यही नागरिकताका आधारमा उनले सन् २००१ मा पासपोर्ट बनाए, जुन पासपोर्टको नम्बर १४८२*** हो । त्यही पासपोर्ट प्रयोग गरेर उनी अमेरिका गए ।

सन् २०१३ मा नेपाल फर्केर लामिछानेले संसारकै लामो टेलिभिजन कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाएका थिए । तथापि उनले त्यसको अर्को वर्ष अर्थात सन् २०१४ मा अमेरिकी पासपोर्ट लिए । उक्त अमेरिकी पासपोर्टको म्याद ५ मार्च २०१४ देखि लागू भएर आगामी ४ मार्च २०२४ सम्म छ । उनले यो अमेरिकी पासपोर्ट त्यागेको घोषणा गरेका छन्, जुन पासपोर्टको नम्बर ५१२९६६*** हो ।

अमेरिकी पासपोर्ट लिएको अर्को वर्ष सन् २०१५ मे २७ बाट लागू हुने गरी रविले नेपाली पासपोर्ट बनाए । ०८८३४*** नम्बरको उनको नेपाली पासपोर्टको म्याद २६ मे २०२५ सम्म छ । यो पासपोर्टमा उनले नेपाली नागरिकता नम्बर १८२२२ प्रयोग गरेका छन् ।

रवि काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता हुन् । उनको मतदाता परिचयपत्र नम्बर २६३४२*** हो । यो मतदाता परियचय पत्रमा पनि उनको पुरानै नागरिकता नम्बर १८*** प्रयोग भएको छ ।

रविले अमेरिकी पासपोर्ट प्रयोग गरिरहेकै बेला पुरानै नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएका हुन् कि अमेरिकी नागरिकता त्यागेपछि नेपाली पासपोर्ट बनाएका हुन् ? नेपाली पासपोर्ट बनाउँदा अमेरिकी नागरिकता त्यागेको निस्साविनै स्वतः खारेज भएको नेपाली नागरिकता पुनः प्रयोग गरिएको हो कि होइन ? अहिले यही विषयमा लामिछानेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

अमेरिकालाई सोध्ने कि जिल्ला प्रशासनमा खोज्ने ?

मंसिर १२ गते गृहमन्त्रालयबाट एउटा पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्यो । पत्रमा चितवन –२ बाट निर्वाचित रवि लामिछानेले प्रयोग गरेको नागरिकता खारेज भएको भन्दै परेको उजुरीमाथि छानविन गर्न निर्देशन दिइएको छ ।

गृहको पत्र प्रहरी परिसरमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेमाथि फौजदारी कसुर अन्तर्गत अनुसन्धान अगाडि बढेको छ । अब प्रहरीले सबैभन्दा पहिले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको भन्ने दाबीको तथ्य खोज्नेछ ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय मार्फत अमेरिकासँग रविले उताको नागरिकता त्याग गरेको हो कि होइन भन्ने तथ्यको माग गरेको छ । लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि हाल प्रयोग गरिरहेको नेपाली नागरिकता लिएको हो कि खारेज भैसकेको पुरानै नागरिकता प्रयोग गरेको हो भन्ने तथ्य त्यसपछि खुल्ने प्रहरीको भनाइ छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राई कान्तिपुर टेलिभिजनसँग भन्छन्, ‘नेपाली नागरिकले अमेरिकी नागरिकता लिएर अमेरिकी नागरिक बनिसकेको, त्यसपछि फेरि नेपालमा आएर अमेरिकी नागरिकता त्यागिसकेको भन्ने कुरा हो । अब त्यो त्यागेको हो कि हैन भन्ने कुरा चाहिँ हामीले सम्बन्धित देशमा पत्राचार गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयमा पत्राचार गर्छौं । गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा पत्राचार हुन्छ र परराष्ट्रले फेरि सम्बन्धित देशमा पत्राचार गर्छ । त्यसपछि उताबाट जे डकुमेन्ट आउँछ, त्यसपछि नै यसको छिनोफानो हुन्छ ।’

प्रहरीमा परेको उजुरीमा रविले अमेरिकाको नागरिकता त्यागे पनि पुनः नेपाली नागरिक हुन कानुन बमोजिम प्रक्रिया सुरु नगरेको आरोप छ । चितवन २ बाट निर्वाचित सांसद रविले आफ्नो मतदाता परिचयपत्रमा १८*** नागरिकता नम्बर उल्लेख गरेका छन् । जुन उनले अमेरिका जानुअघि नै लिएको नागरिकताको नम्बर हो ।

सन् २०१५ मा यही नागरिकता नम्बर प्रयोग गरेर उनले नेपाली राहदानी लिएका छन् । जबकि रविसँग भएको अमेरिकी पासपोर्टको मिति सन् २०१४ देखि २०२४ सम्म छ । उनले सन् २०१५ मा नेपालको राहदानी लिएको भनेका छन् । तर, नेपालको राहदानी लिन यहीँकै पुरानो नागरिकता ब्युँताएका हुन् ? प्रहरीको अनुसन्धान यसैमा केन्द्रित छ ।

प्रतिनिधि सभामा निर्वाचित रविले शपथ लिइसकेका छैनन् । फौजदारी कसुरमा मुद्दा चलेपछि विगतमा रेशमलाल चौधरीको सपथ रोकिएको नजिर छ । नागरिकतासम्बन्धी झूठो प्रमाण पेस गरेको ठहरेमा एकदेखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने कानूनी व्यवस्था छ ।

कानूनले के भन्छ ?

नागरिकताको खारेजी र पुनःप्राप्तिबारे नेपालको कानून स्पष्ट छ । कानूनमा कुनै दुविधा छैन । कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा उसको नेपाली नागरिकता स्वतः खारेज हुन्छ । तर, उसले विदेशी नागरिकता त्यागेको निस्सा बुझाएपछि सोही मितिबाट नेपाली नागरिकता पुनः सक्रिय हुन्छ ।

नेपाली नागरिकले विदेशी नागरिकता लिए त्यसको जानकारी गराउनुपर्ने र नेपालको नागरिकता स्वतः खारेज हुने कानुनी व्यवस्था छ । त्यसैगरी विदेशको नागरिकता त्यागेर पुनः नेपाली नागरिक बन्नका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, खारेज भइसकेको पुरानै नागरिकता प्रयोग गर्न मिल्दैन ।

रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेर सोको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएपछि पुरानै नम्बरको नेपाली नागरिकता पुनः सक्रिय हुने देखिन्छ । तर, उनले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाल सरकारलाई बुझाएको मितिबाट सो कुरा लागू हुन्छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाल सरकारलाई कुन मितिमा बुझाए ? अहिले प्रहरीले खोजी गरिरहेको विषय यही हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे–नत्यागेको बुझ्न नेपाल प्रहरीले परराष्ट्र मार्फत अमेरिकामा पत्राचार गर्न लागेको प्रहरी अधिकारीहरुको भनाइ छ । तर, उनले अमेरिकी नागरिकता त्यागे–नत्यागेको निस्सा खोज्ने काम नेपाल सरकारको होइन । यो त सम्बन्धित व्यक्ति आफैंले जिल्ला प्रशासनमा निस्सा बुझाउने र सो निस्सा दर्ता भएपछि पुरानो नागरिकता सोही मितिबाट सक्रिय हुने कानूनमा स्पष्ट व्यवस्था छ । कानून अनुसार अमेरिकी नागरिकता त्यागेको निस्सा खोज्ने काम प्रहरीको होइन, रवि लामिछाने स्वयंको हो ।

रविले नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा दर्ता नगराई पुरानो नागरिकता क्रियाशील गरेर पासपोर्ट बनाउने, मतदाता नामावलीमा नाम चढाउने र उम्मेदवार बन्ने कार्य गरेका रहेछन् भने त्यो कानूनसम्मत नहुन सक्छ र त्यस्तो अवस्थामा उनको सांसद पदको बैधतामाथि पनि कानूनी अड्चन आउन सक्ने देखिन्छ । तर, अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा दर्ता रहेछ भने सो दर्ता भएको मितिदेखि नै लामिछानेको १८*** नम्बरको नागरिकता बैध ठहरिनेछ ।

नागरिकतासम्बन्धी कानून हेर्दा लामिछानेले अमेरिकी नागरिकता त्यागे नत्यागेको बुझ्न परराष्ट्रमार्फत् अमेरिकालाई पत्राचार गर्ने नेपाल प्रहरीको पहल नै वाहियात देखिन्छ । उनले अमेरिकी नागरिकता त्यागेका हुन् वा होइनन् भन्ने निस्सा त नेपालकै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा चाहिँ खोज्नुपर्ने हो । त्यहाँ त्यागको निस्सा दर्ता भएको रहेनछ भने लामिछानेले प्रयोग गरिरहेको १८*** नम्बरको नागरिकता स्वतः अबैध ठहरिने छ ।

भिडियो - 

अब नागरिकता ऐन २०६३ का दफा १० देखि १४ सम्मका प्रावधानहरु हेरौं –

१०. नेपाली नागरिकता कायम नरहने : (१) नेपालको कुनैनागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहनेछैन ।

(२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ । त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन ।

(३) दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहनेछैन ।

(४) कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले १६ वर्ष उमेर पुगेको २ वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नुपर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहनेछैन ।

(५) नेपालको नागरिकले विदेशी मलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानून बमोजिम निर्णय गर्नेछ ।

११. पुनः नेपाली नागरिकता कायम हुने : कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।

१२. नागरिकताको प्रमाणपत्र रद्द गर्ने : कुनै नेपाली नागरिकले झूठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ ।

१३. दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने : कसैले पनि एक भन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन । तर, बसाइँ सरेको आधारमा कुनै व्यक्तिले चाहेमा सम्वन्धित कार्यालयबाट निजले पहिले लिएको नागरिकता खिची अर्काे नागरिकताको प्रमाणपत्र जारी गर्न बाधा पर्ने छैन ।

१४. नेपाली नागरिकताबाट हटाउने : (१) कुनै विदेशी व्यक्तिले झूठो विवरण वा वयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ ।

लामिछानेको नागरिकता विवादसम्बन्धी विभिन्न सरकारी निकायले गरेका पत्रचार र कागजात-