रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान

मंसिर १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद रवि लामिछानेको नागरिकता प्रकरणमाथि  प्रहरीले अनुसन्धान थालेको छ । उनीमाथि अवैध नागरिकता पेस गरेर उम्मेदवारी दिएको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि खारेज भइसकेको नेपाली नागरिकता  पुन: प्रयोग  गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । यसबारे गृह मन्त्रालयले चासो देखाउँदै लामिछानेको नागरिकता र पासपोर्टबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको हो । प्रशासनले नागरिकता सम्बन्धी मुद्दा फौजदारी कसुर अन्तर्गत रहेको भन्दै  काठमाडौं प्रहरी परिसरलाई अनुसन्धानको जिम्मा लगाएको छ ।

प्रहरीले लामिछानेको नागरिकता सम्बन्धी सबै विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिइसकेको छ । 

लामिछानेले दोहोरो नागरिकता लिएको विषय नागरिकता दुरुपयोग फौजदारी अपराध अन्तर्गत पर्ने भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले कान्तिपुरलाई बताए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख भरत बोहराका अनुसार उनको नागरिकताबारे अनुसन्धान गर्न निर्देशन आएको छ । उनले भने, ‘लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको बताएका छन् । तर खारेज भएको १८२२२ नम्बरको नेपाली नागरिकताबाटै सबै काम गरिरहेको भन्ने उजुरी आएको हो ।’

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः कायम नरहने उल्लेख छ । 

चुनाव अगाडि नै रविको नागरिकतासम्बन्धी उजुरी निर्वाचन आयोगमा परेको थियो । आयोगले नागरिकता छानविनको विषय आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने स्पष्ट पारेको थियो ।

निर्वाचन सकिए लगत्तै लामिछानेको नागरिकतामाथि गृह प्रशासनले छानविान थालेपछि अब उनले अनुसन्धान नसकिएसम्म सपथ ग्रहण गर्न पाउलान्, नपाउलान् भन्ने कानुनी प्रश्नसमेत उब्जिएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement