
काठमाडौं । स्थापनाको झन्डै ४ वर्षमा दुई तिहाईनजिकको बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन गर्दैछ । महाधिवेशनबाट रास्वपाले पार्टीको मार्गदर्शक सिद्धान्त र राजनीतिक विचारलाई आधिकारिकता दिनेछ भने नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । रास्वपाले कसरी गर्दैछ नेतृत्वको चयन ?
२०७९ असार ७ गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनबाट संसद्मा दुई तिहाई नजिकको शक्ति बनेर सरकारको नेतृत्व गरिरहेको छ । स्थापनाको चार वर्ष पुरा हुँदै गर्दा रास्वपाले असारको पहिलो साता सभापति रवि लामिछानेको चुनावीक्षेत्र चितवनमा प्रथम महाधिवेशन गर्दैछ । महाधिवेशनबाट रास्वपाले औपचारिकरुपमा पार्टीको मार्गदर्शक सिद्धान्त र राजनीतिक विचारलाई समेत आधिकारिकता दिनेछ । यसअवधिमा रास्वपामा विवेकशील साझासहित काठमाडौं महानगरका पूर्वप्रमुखसमेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको समूहलगायत अन्य विचारधारा बोक्ने ब्यक्ति समूहसमेत समाहित भइसकेका छन् । महाधिवेशनले रास्वपामा समाहित भएका अन्य राजनीतिक दलसहितका शक्तिहरुलाई एकतामा उन्ने र पार्टीलाई संस्थागत गर्ने केन्द्रीय सदस्य समीक्षा बास्कोटा बताउनुहुन्छ ।
रास्वपा महाधिवेशनबाट पार्टी सभापतिमा लामिछाने नै दोहोरिने कतिपय नेताहरुले दावी गर्दैआएका छन् । यदपि पार्टीले लोकतान्त्रिक विधिलाई स्वीकार गरेकाले प्रतिस्पर्धाको प्रक्रियाबाट पनि नेतृत्व चयनको बाटो खुल्ला रहेको पार्टी सचिवालय सदस्य गणेश पराजुली बताउनुहुन्छ ।
तल्लो तहबाट महाधिवेशन प्रतिनिधि छनोट भएकाले केन्द्रीय नेतृत्व रोज्ने स्वविवेकीय अधिकार पनि महाधिवेशन प्रतिनिधिहरुकै भएको रास्वपा नेताहरुको भनाइ छ । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दा पनि नेताहरुको मूल्याङकन र समझदारीलाई आधार मान्नुपर्नेमा उनीहरुको जोड छ ।
महाधिवेशको बन्द सत्रहलमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छलफलका लागि पेश गर्ने तयारी रास्वपाको छ । रास्वपाले आफ्नो प्रस्तावनामा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलबादी लोकतान्त्रिक पार्टी भनेको छ । अर्कोतर्फ रास्वपाले आफूलाई मास बेस या क्याडर बेस दुवै नभनेर दुवैको फ्यु्जन पार्टी भन्दै आएको छ । यस्तै संघीयता, प्रदेश संरचना र शासकीय स्वरुपमा आफ्नो अडान संविधान अनुसार नै हुने रास्वपाले जनाएको छ ।
स्थापनायता पार्टीमा राजनीतिक दलसहित समूह तथा ब्यक्तिहरु एकताबद्ध भएकाले पनि पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको संख्या विधान संशोधन गरेर बढाउनुपर्ने वाध्यतामा रास्वपा छ । अहिले रास्वपामा सभापतिसहित १३ पदाधिकारीसहित १६ सदस्यीय सचिवालय रहेको छ । पदाधिकारीसहित रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय समिति रहेको छ । अब पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको संख्या बढाएर १३१ पुर्याउने विषयमा पनि रास्वपाभित्र छलफल भइरहेको छ । रास्वपाले ७७ जिल्ला र सात प्रदेशको अधिवेशन जेठभित्र सक्न मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ।