किसानको ६५ करोड भुक्तानी रोकेर व्यापार बढाउँदै डीडीसी

जेष्ठ २९, २०८३ |नारायण किलम्बू
किसानको ६५ करोड भुक्तानी रोकेर व्यापार बढाउँदै डीडीसी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले याक चिज खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि दुग्ध विकास संस्थानका उत्पादनको बिक्रीमा करिब ७ प्रतिशतले वृद्धि भएको छ । 

त्यसमध्ये याक चिजको बिक्री सबैभन्दा बढी छ । दूध र दुग्धजन्य पदार्थको बिक्रीबाट मात्रै डीडीसीले बर्सेनि ४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छ । तै पनि वार्षिक ३० करोड रुपैयाँ घाटामा रहेको बताउने डीडीसीले किसानको ६५ करोड रुपैयाँ भुक्तानी गरेको छैन ।

प्रधानमन्त्री वालेन्द शाहले यही जेठ २ गते आफ्नो सामाजिक सञ्जालमार्फत याक चिज खाँदै गरेको तस्बिर सार्वजनिक गरेपछि याक चिजको बिक्री ह्वात्तै बढ्यो । जेठको २० दिनमै ४५ सय किलो चीज बिक्री भयो । असारसम्म पुग्नेगरी भण्डारण गरिएकोमा जेठ तेस्रो सातामै सबै सकिएपछि डीडीसीले प्रतिकिलो ३ सय रुपैयाँका दरले मूल्यसमेत बढायो । 

अब रसुवा, दोलखा, रामेछाप र सोलुखुम्बु गरी चार जिल्लामा उत्पादन आउने क्रममा रहेको डीडीसीले जनाएको छ । याक चिजमात्रै होइन, अलावा पनिर, फ्रेस मिल्कलगायत दुग्धजन्य उत्पादनको मागसमेत बढेको छ । लैनचौरस्थित संस्थानको काउन्टरमा वैशाखमा दैनिक २ लाख ८० हजार रुपैयाँसम्म व्यापार हुने गरेकोमा जेठमा दैनिक ४ लाखको हाराहारीमा व्यापार हुन थालेको छ ।

संस्थानले मन्त्रिपरिषद् सदस्यहरुमार्फत पनि डीडीसीका उत्पादनको प्रवर्द्धन गरिरहेको छ । सिहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा हरेक मन्त्रीका अगाडि डीडीसीका दूध, दही, पनिर, पेडा, चीज, मोहीलगायतका उत्पादन राखिएका थिए ।

डीडीसीले बर्सेनि ६ करोड लिटर दुध संकलन गरी दूध र दुग्धजन्यपदार्थको व्यापार गर्दै आएको छ, जसबाट ४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने गर्छ । तर, बर्सेनि ३० करोडको हाराहारीमा घाटा भएको दाबी गर्दै आएको संस्थानले किसानको ६५ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छैन । 

यसैगरी, १ अर्ब २५ करोड ऋण रहेको र व्यवस्थापकीय कमजोर र चुहावटकै कारण घाटामा गएको संस्थानको स्वीकारोक्ति छ । व्यवस्थापकीय पक्ष सुदृढ गर्दै चुहावट नियन्त्रण गर्नुपर्ने त छँदैछ, सबैभन्दा महत्वपूर्ण कुरा किसानलाई समयमै भुक्तानी हो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।