
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा हुने प्रथम महाधिवेशनको तयारी तीव्र बनाएको छ । नेतृत्वसहित केन्द्रीय सदस्यहरुको निर्वाचन सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने रास्वपाको तयारी छ ।
कान्तिपुर समाचारसँग कुरा गर्दै रास्वपा निर्वाचन आयोग प्रमुख भुवन केसीले असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नतिजा दुई घण्टाभित्र सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो । त्यसका लागि ८० वटा मेसिन प्रयोग गरिने उहाँको भनाइ छ ।
रास्वपा महाधिवेशनको उद्घाटन र बन्दसत्र चितवनको रत्ननगरस्थित स्टार बैंकेटमा गर्ने निश्चित भएको छ भने ३२ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने रास्वपा निर्वाचन आयोगले जनाएको छ । यस्तै उद्घाटन सत्रमा १० हजार ब्यक्ति सहभागी हुने आकलन गरिएको छ ।
रास्वपाले गण्डकी, बागमती र मधेश प्रदेशका केहीबाहेक अधिकांश जिल्लाहरुको अधिवेशन सकेको छ भने असार १ भित्र प्रदेश अधिवेशन सक्न निर्देशन दिइएको छ । स्थगन भएका मधेशका सातसहित अन्य जिल्लाबाट भने यसअघिकै तदर्थ समितिबाट प्रतिनिधि चयन हुनेछन् । असार ३ र ४ भित्र महाधिवेशन प्रतिनिधिहरुको नामावलीलाई अन्तिम रुप दिइसक्ने र असार ७ देखि ९ भित्र महाधिवेशन सम्पन्न गर्ने गरि निर्वाचन आयोग जुटेको छ । रास्वपाले पदाधिकारीसहित एकसय २९ केन्द्रीय सदस्य रहेको समितिमा केही पदाधिकारी थप गर्ने तयारी गरेको छ । यसअघिको विधानमा वरिष्ठ नेता र एक महामन्त्रीको मात्र ब्यवस्था रहेकोमा नयाँ विधानमा एक वरिष्ठ नेता र एक महामन्त्री थप्ने तयारी छ । यद्पि पदाधकारी थपको विषयबारे छलफल भइरहेको रास्वपाले जनाएको छ।