
इलाम । बौद्धिक अपाङ्गता भएका बालबालिका लागि इलाम सदरमुकामस्थित बरबोटेमा बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनमा छ।
यस्ता बालबालिकाका लागि शिक्षादीक्षा र राम्रो हेरचाह गर्दै आएको स्रोत कक्षालाई भौतिक पूर्वाधारदेखि थेरापी र अत्यावश्यक सामाग्रीको भने अभाव छ। बौद्धिक अपाङ्गता जटिल प्रकृतिको समस्या हो। तर, यस्ता व्यक्तिलाई उचित स्यहारसुसार र व्यवहार गरिने हो भने उनीहरुले पनि सहज जीवन जीउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै आएको छ इलाम नगरपालिका-५ बरबोटेको अमर माध्यमिक विद्यालयस्थित बौद्धिक अपाङ्गता स्रोत कक्षाले।
यो कक्षालाई थप प्रभावकारी बनाउन पर्याप्त खुला स्थानसहित भवन अभाव हुँदा भने समस्या छ। बौद्धिक अपाङ्गता भएका २१ जना विद्यार्थी रहेको स्रोत केन्द्रमा विद्यार्थीहरुका लागि खानबस्नको व्यवस्था छ। उनीहरुको चाहनाअनुसार खेलकुद र मनोरञ्जनसमेत गराइन्छ।
पठनपाठन र हेरचाहका लागि भने प्रबन्ध मिलाइएको छ । यहाँका बालकालिकालाई थेरापी, पोषणयुक्त खाद्यान्न र सरसफाइका लागि पनि थप प्रबन्ध मिलाउनुपर्ने आवश्यकता देखिएको छ । 'हाम्रो बारे निर्णय, हामीसँगै हामीलाई बुझेर, भन्ने बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको नारालाई मनन गर्दै यस्ता कक्षाहरुलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्छ ।