पुराना दलका असन्तुष्ट नेताको रोजाइ बन्दै रास्वपा

पुराना दलबाट रास्वपामा ‘माइग्रेसन’
जेष्ठ २७, २०८३ |प्रकाश बम
पुराना दलका असन्तुष्ट नेताको रोजाइ बन्दै रास्वपा

काठमाडौं । पुराना दल कांग्रेस, एमाले, नेकपा तथा राप्रपा आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र संगठनात्मक असन्तुष्टिबाट गुज्रिरहेका छन् । 

राप्रपामा धवलशमसेर राणा नेतृत्वको समूह अलग भइसकेको छ भने कांग्रेसमा आधाले पनि क्रियाशील सदस्यता नवीकरण गराएनन् । एमालेमा पनि पार्टी पुनर्गठनको माग उठिरहेको छ । यही बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी भने महाधिवेशनको तयारी व्यस्त छ । 

जसका लागि ६० जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ भने प्रदेश अधिवेशन पनि सुरु गरिसकेको छ । रास्वपाका जिल्ला नेतृत्व हेर्ने हो भने अधिकांश तिनै पूराना दलबाट आएकाहरु नै देखिएका छन् । तनहुँमा जेठ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा सभापतिका दुवै प्रतिस्पर्धी थिए कांग्रेसका पूर्वनेताहरु । 

एक कांग्रेस तनहुँका पूर्वसचिव विश्वनाथ बास्तोला र अर्का गण्डकी प्रदेशका पूर्वसदस्य शेषरमण न्यौपाने । जसमा बास्तोला विजयी हुनुभयो । त्यस्तै कांग्रेसबाट नवलपुरको मध्यविन्दु नगर सभापति रहिसक्नुभएका दोमनबहादुर भण्डारी अहिले रास्वपाको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । 

कांग्रेसबाट पाँचथरको फिदिम नगर सभापतिसमेत रहिसक्नुभएका प्रकाश गुरुङ रास्वपाको जिल्ला सभापति बन्नुभएको छ । हालै अर्घाखाँची जिल्ला सभापतिमा निर्वाचित सीता पराजुली पनि कांग्रेसको जिल्ला सदस्य हुनुहुन्थ्यो । उता १५औँ महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता अद्यावधिकमा जुटेको कांग्रेसमा भने फरक स्थिति छ । 

कांग्रेसमा साढे ८ लाख क्रियाशील सदस्य भएको दाबी गरिए पनि दिइएको समयसीमाभित्र नवीकरण गर्ने आधा पनि पुगेनन्, जसमा आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र नेतृत्वप्रतिको असन्तुष्टि प्रमुख कारण रहेको नेताहरु बताउँछन् ।

एमाले र नेकपाबाट आएकाहरु पनि रास्वपाको जिल्ला नेतृत्वमा निर्वाचित भएका छन् । २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बन्नुभएकी पुनम शर्मा अहिले रास्वपाको बागलुङ सभापति बन्नुभएको छ । यद्यपि नेतृत्व चयन प्रक्रियालाई लिएर विवादसमेत देखिएको छ । 

झापामा नेकपाबाट रास्वपा प्रवेश गर्नुभएका ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । धनकुटाका जिल्ला सभापति भुवन थापा पनि माओवादी राजनीतिबाट रास्वपामा आउनुभएको हो । परम्परागत दलप्रतिको असन्तुष्टि, वैकल्पिक राजनीतिक शक्तिको खोजी तथा संगठन विस्तार अभियानका कारण पनि आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको रास्वपाको दाबी छ । 

हालसम्म रास्वपाले करिब ६० जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। वडा, नगर तथा जिल्ला तहको नेतृत्वमा अन्य दलबाट आएकाहरु निर्वाचित भइरहेका छन् । रास्वपाले आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै संगठन विस्तारमा पनि विशेष जोड दिइरहेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।