नयाँ प्रविधिबाट ऐतिहासिक सम्पदाको संरक्षण, लुम्बिनीमा एकमहिने कार्यशाला सम्पन्न

जेष्ठ २९, २०८३ |मनोज पौडेल
नयाँ प्रविधिबाट ऐतिहासिक सम्पदाको संरक्षण, लुम्बिनीमा एकमहिने कार्यशाला सम्पन्न

रूपन्देही । माइक्रोस्कोपबाट समस्या पहिचान गरेर ऐतिहासिक तथा पुरातात्विक वस्तुको उपचार गरिन्छ भन्दा धेरैलाई विश्वास लाग्दैन। 

तर, माइक्रोस्कोपले आजभोलि पुरातात्विक वस्तुको पनि समस्या पहिचान गरेर उपचार गर्न प्रयोग गरिँदैआएको छ। नयाँ प्रविधिबाट इतिहास, पुरातत्व र संस्कृतिक महत्व राख्ने सामग्रीको सुरक्षण तरिकाबारे बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यशाला सम्पन्न भएको छ।

ऐतिहासिक तथा पुरातात्विक वस्तुको संरक्षण पुरानै तरिकाले गर्दैआएका नेपाली संरक्षणकर्मीलाई अत्याधुनिक तरिकाको ज्ञान दिइएको हो। संरक्षणको काम सुरु गर्नुअघि सबैभन्दा पहिले संरक्षण गर्ने पुरातात्विक वस्तुको रेकर्ड लिन सिकाइएको थियो।

त्यसपछि विभिन्न एंगलमा फोटाग्राफी गर्न र संरक्षण गर्ने वस्तुलाई पहिचानका लागि नयाँ नम्बर दिन सिकाइयो । कम्प्युटर इन्ट्री गरी माइक्रोस्कोपबाट समस्या पत्ता लगाउन र समस्या पहिचान भएपछि त्यसलाई मेकानिक वा केमिकल के उपचार ? गर्ने भन्ने ज्ञानसमेत दिइयो ।

पुरातात्विक वस्तु संरक्षण गरेपछि त्यसको उपचार प्रक्रियाको कम्प्युटर इन्ट्री गर्न र मेकानिकल उपचार भए त्यसको विधि र प्रक्रिया राख्न सिकाइयो। केमिकल उपचारमा प्रयोग भएको केमिकल र त्यसको मात्रा तथ्य राख्नसमेत सहभागीहरुले सिके केमिकल प्रयोग गरेर वस्तुलाई सफा गर्ने र भाँच्चिएको भए जोडेर सग्लो र सुरक्षित बनाउन पनि सिकाइएको थियो।

त्यस्तै पुरातात्विक वस्तुमा अल्ट्राभाइलेट लाइट पारेर त्यसमा प्रयोग भएका सामग्री पहिचान गर्न पनि सिकाइयो । पुरातात्विक वस्तुको फोटो ग्रामेटी लिन, एकैपटक लिइएको धेरै फोटोहरु सफ्टवेयरमा राखेर थ्रिडीमा हेर्न सिकाइयो । बुद्ध फाउन्डेसनद्वारा आयोजित एक महिने प्रशिक्षणमा भारतमा मुख्यालय रहेको अनुपम हेरिटेज ल्याबका प्रमुख अनुपम शा प्रशिक्षक हुनुहुन्थ्यो । 

प्रशिक्षणका दौरान गत र यस वर्ष गरी बृहत्तर लुम्बिनी क्षेत्र आसपास पाइएका एक सय ७० पुरातात्विक वस्तु जीर्णाेद्धार गरी संरक्षण गरिएको छ । बुद्ध फाउन्डेसनकै सहयोगमा लुम्बिनी म्युजियममा अत्याधुनिक कन्जर्भेसन ल्याब स्थापना गरिएको छ ।

जहाँ संरक्षणका लागि प्रयोग हुने माइक्रस्कोप, फोटो ग्रामेटी उपकरण, इन्डोस्कोप क्यामरा, अल्ट्रासोनिक अबलेटर र अत्याधुनिक युभी टर्चलाइट छन् । त्यस्तै फोटोग्राफीका सामग्री, लाइटमिटर, मोस्च्यरमिटर, डिस्टिल वाटर बनाउने मेसिन, म्यागनेटिक स्टिरर र अन्य उपकरणहरु छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।