
काठमाडौं । १४ औं महाधिवेशनमा नेपाली कांग्रेसले साढे ८ लाख क्रियाशील सदस्यता रहेको दाबी गरेको थियो । तर, आज सदस्यता नवीकरणको अवधि सकिँदासम्म ५० प्रतिशत अर्थात् झन्डै ४ लाखले मात्र नवीकरण गरेका छन् । नेतृत्वले आधाभन्दा बढी सदस्यले अद्यावधिक गरेको दाबी गरे पनि आन्तरिक विवाद र नेतृत्व तहकै असहमतिका कारण अभियान प्रभावकारी हुन सकेन । उसो भए कहाँ गए कांग्रेसका आधाभन्दा बढी सदस्य ?
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका बेला करिब साढे ८ लाख क्रियाशील सदस्य थिए । तर वैशाख १ देखि सुरु गरिएको सदस्यता अद्यावधिक अभियानको अन्तिम दिन बिहीबार जेठ २१ सम्म आइपुग्दा झन्डै साढे ४ लाख अर्थात् ५० प्रतिशतले मात्र अद्यावधिक गरेका छन् । झन् यसपटक सदस्यता प्रक्रिया सहज, सरल र प्रविधिमैत्री बनाउन पार्टीको वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भर्ने व्यवस्था गरिएको थियो।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा करिब ५ हजार ५ सय क्रियाशील सदस्य रहेकामा करिब ७० प्रतिशतले मात्र सदस्यता अद्यावधिक गरे । अनलाइन माध्यमबाट भने करिब १ हजार ५ सय जनाले मात्रै प्रक्रिया पूरा गरेका छन् ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य पार्टीका प्रथम मतदाता हुन् । क्रियाशील सदस्यहरूले वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्छन् र ती प्रतिनिधिले केन्द्रीय सभापतिसहित केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले हरेक महाधिवेशनअघि क्रियाशील सदस्यता विवादको विषय बन्ने गरेको छ । पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला पक्ष तथा सभापति शेरबहादुर देउवा निकट समूहका शीर्ष नेताहरूले समेत आफू सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नहुने बताउँदै आएका छन्। उनीहरूले जिल्ला, क्षेत्र र वडा तहसम्मका नेता तथा कार्यकर्तालाई पनि अद्यावधिक अभियानमा नलाग्न आग्रह गरेका छन् । कांग्रेस नेताहरूका अनुसार पार्टीभित्रको आन्तरिक विवाद, अन्य दलप्रतिको आकर्षण, विगतमा सदस्यता वितरणमा भएको भनिएको अनियमितता तथा प्राविधिक पहुँचसम्बन्धी समस्याले पनि सदस्यता अद्यावधिक अभियान प्रभावित बनेको छ।
पाँच महिनाअघि १५ औँ महाधिवेशनलाई लक्षित गर्दै सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिएको थियो । त्यसबेला भने ६ लाखको हाराहारीमा सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण भएको थियो । शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षका नेताहरूले एकपटक नवीकरण भइसकेका सदस्यतालाई पुनः अद्यावधिक गरिनु शंकास्पद भएको भन्दै आलोचना गर्दै आएका छन् । कांग्रेसले आगामी असोज ९ देखि १४ गतेसम्म घोषणा गरिएको केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरेको हो । तर यो अभिया नै पार्टीभित्र विवादित बनेको र विशेष महाधिवेशनसँग सम्बन्धित विवादसमेत समाधान हुन नसकेको अवस्थामा आगामी महाधिवेशनले कुन दिशा लिन्छ भन्ने अझै स्पष्ट हुन सकेको छैन ।