
काठमाडौं । बजेटसँग जोडिएका करको दर हेरफेर र भन्सारबाट विद्युतीय गाडी भित्र्याउँदा सूचना चुहावट भएको प्रसंगमा आफूमाथि उठेका प्रश्न प्रति भने अर्थमन्त्री निकै आक्रामक देखिनुभएको छ । भन्सारको सूचना चुहाएर विद्युतीय गाडी विक्रेतालाई लाभ तथा राज्यलाई दुई अर्बभन्दा बढी नोक्सानी पुर्याएको तथा बजेट ल्याएपछि पनि करका दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री वाग्ले सांसददेखि सञ्चार माध्यममाथि खनिनुभएको हो ।
प्रतिनिधि सभामा आज सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफूविरुद्ध समाचार लेख्नेहरुलाई खोस्टाहरु भन्दै कटाक्ष गर्नुभएको छ भने औंला उठाउने सांसदहरुलाई उनीहरुका काण्डबारे अनविज्ञ नभएको भन्दै ती पनि खुल्दै जाने चेतावनी दिनुभयो ।
आजै बिहान बसेको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले आफूले गल्ती गरेको प्रमाण ल्याए कठघरामा उभिन तयार रहेको बताउनुभएको थियो ।
उहाँले हिजो अर्थसमिति बैठकमा इतिहासकै ठूलो वित्तिय अपराधमा छानविन भैरहेको भन्दै उनीहरुले पालेका समूहहरु सल्बलाएको हुनसक्ने बताउनुभएको थियो । तर त्यति ठूलो वित्तिय अपराध कुन हो भन्ने अर्थमन्त्रीले खुलाउनुभएको छैन ।
बजेटमा बोलेको शब्दलाई सच्याउँदा देशद्रोह देख्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादमा तान्न खोजेको आरोप लगाउनुभएको थियो ।
बजेटमाथिको छलफलमा सांसदहरुले भने बजेट जनमुखी हुन नसकेको भन्दै आलोचना गरेका छन् ।
बजेटबारे सत्तारुढ दलकै सांसदको प्रश्न
सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरिब जनतालाई नछोएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नै दलको सरकार भए पनि तल्लो तहका नागरिकको हितमा बजेट विनियोजन गर्न नसकेको उल्लेख गर्दै बजेट फुलेको बेलुन भएको टिप्पणी गर्नुभयो ।
विपक्षी दलहरुले पनि सरकारले ल्याएको बजेटको आलोचना गरे । बजेटले उत्पादन वृद्धि र आत्मनिर्भरताको बाटो छाडेर रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई नै निरन्तरता दिन खोजको उनीहरुको भनाइ छ ।
विपक्षी सांसदहरुले सरकार मध्यमवर्ग केन्द्रित भए पनि गरिबीलाई नछोएको बताएका थिए ।