दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

पुस ९, २०७९ |दीपक आचार्य
दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

काठमाडौं । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय घर्किनै लाग्दा पनि दलहरु अडानबाट टसमस भएका छैनन् । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता मुख्य पद कसले के लिने भन्नेमै शीर्ष नेताहरु अल्झिएको भनिए पनि त्यसमा पार्टीभित्रका गुटगत समूहको समेत भूमिका देखिन्छ । विशेष गरी कांग्रेस र माओवादी केन्द्रभित्र फरक-फरक स्वार्थ समूह हावी हुँदा सहमति बन्न नसकेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफ्नै दलले लिने अवसरको खोजीमा छन् । तर सभापतिनिकटकै केही व्यक्ति भने प्रधानमन्त्री माओवादी केन्द्रलाई दिएर भए पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने भन्दै आएका छन् । उनीहरुको चाहना राष्ट्रपति आफ्नो पार्टीले लिने त छँदै छ, उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी लिएर गठबन्धन सरकारमा सहभागी हुने देखिन्छ ।

सभापति देउवा कुनै पनि हालतमा प्रधानमन्त्री नबनुन् भन्ने अर्को समूह पनि कांग्रेसमा सक्रिय देखिएको छ । तर, ठूलो दलको हैसियतमा सरकारको नेतृत्व पाउनुपर्ने विषय स्वाभाविक भएको देउवा पक्षका नेताहरुको तर्क छ ।

कांग्रेसभित्रको गुटगत राजनीतिका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ढाडस मिलेको देखिन्छ । कुनै पनि हालतमा सरकारको नेतृत्व आफूले गर्ने दाबी गर्दै आएको माओवादी केन्द्रलाई एमालेले पनि भित्री रुपमा फकाउन थालेको छ । त्यही कारण एकातिर गठबन्धनमा अडान नछाड्ने र अर्कोतिर एमालेसँग पनि संवाद गर्ने माओवादीको रणनीति देखिन्छ‍ । माओवादीभित्रको एउटा धार कम्युनिस्ट नै मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छ । त्यही धारले अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको अडानबाट पछि फर्कन दिएको छैन ।

त्यसो त कांग्रेस र माओवादीबीच चरम अविश्वास पनि छ । प्रधानमन्त्री छाडेपछिको परिस्थिति के हुनसक्छ भन्नेमा आशंकै-आशंका छ । जसका कारण अहिले असमझदारी बढ्दै गएको र शक्तिका लागि जस्तोसुकै निर्णय लिन सक्ने विश्लेषण हुन थालेको छ ।

गठबन्धन दलबीच चुनावअघि भएका औपचारिक अनौपचारिक समझदारीको असर पनि अहिले देखिएको छ । कांग्रेस र माओवादीका शीर्ष नेताले अपेक्षा गरेअनुरुपको परिणाम नपाउँदा तरल अवस्थाको फाइदा लिने दाउ दुवैमा देखिन्छ ।

कांग्रेस र माओवादी केन्द्र एकले अर्कालार्इ गलाएर सकेसम्म धेरै शक्ति आफूसँग राख्ने प्रयत्नमा छन् । उनीहरु अहिलेकै अडानमा रहने हो भने राजनीतिमा नयाँ परिस्थिति सिर्जना नहोला भन्न सकिन्न । 

सम्बन्धित समाचार

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

दाहाल-ओलीबीच छलफल भइरहेका बेला सीके राउतको प्रवेश

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement