सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सीमा आज साँझ पाँच बजे सकिँदैछ ।

राष्ट्रपति भण्डारीले गत पुस ३ गते नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी गर्न एक साताको समय दिएकी थिइन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गरेकी थिइन् ।

गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेका कारण दलहरुलाई मिलिजुली सरकार बनाउनु पर्ने बाध्यता छ । तर, निर्वाचनमा समेत गठबन्धन गरेर गएको वर्तमान सत्तारुढ दलहरुबीचमै प्रधानमन्त्रीका विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

पछिल्लो केही दिनदेखि निरन्तर रुपमा बालुवाटारमा सत्ताघटक दलहरुको छलफल हुँदै आएपनि आ–आफ्नै अडानका कारण ठोस निष्कर्षमा पुग्न सकेका छैनन् । खास गरी प्रमुख तीन दलले प्रधानमन्त्रीमा दाबी गर्दा आन्तरिक संकट चुलिएको हो ।

बालुवाटार बैठक : आफ्नै वचनले देउवालाई सकस, प्रधानमन्त्रीमा ३ जनाको नाम

निर्वाचनबाट पहिलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री पाउनु पर्ने अडान लिँदै आएको छ भने माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी छाड्न सकेको छैन । प्रधानमन्त्रीका साथै कांग्रेसले राष्ट्रपतिमा पनि दाबी गर्दै आएको छ ।

सत्ता गठबन्धनभित्र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति बनेको दाबी गरिएपनि पहिलो कार्यकाल प्रधानमन्त्री को बन्ने भन्ने सहमति हुन सकेको छैन ।

गठबन्धनको भागबण्डा : यी हुन् ६ विकल्प

सहमतिको अन्तिम प्रयासका लागि आज (आइतबार) गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरुको पनि भागबण्डा बैठकले मिलाउने जानकारी दिइएको छ ।

आज बिहान १० बजे प्रधानमन्त्री एवं कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने दाहालका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

फाइल तस्बिर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement