मधेश प्रदेश सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता, भाेलि पेसी

कार्तिक २४, २०८२ |किरण पौडेल
मधेश प्रदेश सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता, भाेलि पेसी

काठमाडौं । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

रक्कीप्रसाद साह र सुजित यादवले साेमबार मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमा संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ । 

प्रदेश सरकार गठनविरूद्ध साेमबार दायर गरिएकाे रिटकाे पेसी भाेलि अर्थात् मंगलबार हुने सर्वाच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद काेइराला कान्तिपुर टेलिभिजनलाई जानकारी दिनु भएकाे छ । यसअघि साेमबार बिहानमात्र मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज यादवलाई नियुक्त गर्नुभएको थियो ।

बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले साेमबार बिहान बर्दिबासको पानस कटेज पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बर्दिबासको कालापानीस्थित होटल पानसमा साेमबार झिसमिसेमै बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको सपथसमेत गराइएको थियो । होटलमै एमाले प्रदेशसभा सदस्य लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य बिमला अन्सारी र राप्रपाकी प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई विना-विभागीय मन्त्रीको सपथ पनि गराइएको छ ।

यसैबीच, मधेशमा मुख्यमन्त्री नियुक्तिपछि बढेको विवादलाई लिएर असन्तुष्ट दलका नेता र कार्यकर्ताले मधेश प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीको राजीनामा पनि मागेका छन् । 

यसअघि प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए ।

याे पनि :

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

मुख्यमन्त्री यादवलाई होटलमा सपथ गराएर प्रदेश प्रमुख भण्डारी काठमाडौं टाप

मधेश मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको कार्यालय तोडफोड

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादवलाई नियुक्त गरेको विरोधमा कांग्रेसहितका सात दल अदालत जाने


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।