वर्तमान सरकार जनताको आदेशमा बनेको हो : कांग्रेस नेता महर

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकार जनताको आदेशमा बनेको हो : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको टिप्पणी गर्नुभएको छ ।

वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उहाँले जेन-जी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताउनुभएको हो । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गर्नुभयो । 

उहाँले सो आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहरहरू भत्काउने काम उचित नभए पनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो । नेता महरले सरकारले पर्याप्त काम गर्न नसक्दाको परिणाम जेन-जी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको समेत बताउनु भयो । 

बुधबार काठमाडौंमा आफूले रचना गरेको गीत बन्छ बन्छ, मेरो देश बन्छ सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले देश र जनताको पक्षमा राजनीति गर्नेहरूले पर्याप्त काम नगरेपछि आफूले देश बनाउने आशा उमार्न सो गीत रचना गरेको समेत बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय गानका लेखक प्रदीप कुमार राई व्याकुल माईला, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतका वक्ताहरूले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरू प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.