
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी चुनावमा अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ।
कांग्रेसले थापालाई अघि सारेर निर्वाचनमा जानु नै उचित विकल्प हुने भन्दै शर्माले आफूले यसका लागि पहिलेदेखि नै पैरवी गर्दै आएको बताउनुभयो। आगामी महाधिवेशनले पार्टी नेतृत्वमै थापालाई चुन्न सक्ने संकेत गर्दै सभापतिकै रूपमा समेत थापाको नेतृत्वमा निर्वाचनमा जान सकिने शर्माको भनाइ छ।
यसअघि २०७९ मा शेखर-गगन समूहमा संसदीय दलको नेतामा गगन थापालाई अघि बढाउने र १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापतिको उम्मेदवारका रूपमा सघाउने समझदारी अझै कायम छ त ? भन्ने प्रश्नमा शर्माले यस्तो जवाफ दिनुभयो, 'अहिलेकाे बेलामा नेतृत्व गर्नका लागि म भन्दा तुलनात्मक रुपले गगन थापा उपयुक्त हुनुहुन्छ भनेर मैले पहिलेदेखिनै भन्दै आएकाे छु । अब कसैले किराना पसल चलाइरहनुभएकाे छ र अबकाे प्रधानमन्त्री काे भनेर साेध्नुहुन्छ भने गगन थापा, स्कुल पढाइ रहेका शिक्षकलाई विद्यार्थीले साेध्छन् अबकाे याे देशकाे कस्ले नेतृत्व गर्ला भन्दिनुस् गगन थापा ।'
कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै शर्माले केन्द्रीय समितिले निर्णयले तय गरेको कार्यतालिकामा सामान्य हेरफेर भए पनि पुष २६ देखि २८ सम्म महाधिवेशन गर्नेमा आफूहरू ढुक्क रहेको बताउनुभयो।
शर्मासँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे कार्यक्रम 'फायरसाइड'मा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ।