चुकेनी खोला जलविद्युत आयोजनाको बिजुलीले जुम्ला झलमल्ल, साढे ७ हजार घरधुरी लाभान्वित

मंसिर १७, २०८२ |डीबी बुढा
चुकेनी खोला जलविद्युत आयोजनाको बिजुलीले जुम्ला झलमल्ल, साढे ७ हजार घरधुरी लाभान्वित

जुम्ला । पातारासी गाउँपालिका-१ गडिगाउँमा रहेको चुकेनी खोलाबाट निकालिएको झन्डै एक मेगावाट बिजुलीले अहिले जुम्ला उज्यालो बनाइरहेको छ । 

यो बिजुलीले साढे ७ हजार घरधुरीमा उज्यालो पुर्‍याइरहेको हो । पहिले १८ घन्टासम्म लोडसेडिङको मार खेपेको जुम्लामा अहिले एक घन्टा पनि बिजुली जाँदैन । दशकअघिसम्म जुम्ला बिजुलीविनाको अँध्यारोमा थियो । सल्लाको दियालो, टुकी र मैनबत्तीको साहरामा उज्यालो बालिन्थ्यो । 

सक्नले घरमा सोलार राखेर सौर्य ऊर्जाको प्रयोग गरिरहेको भए पनि नहुनेहरू दियालो बालेर गुजारा चलाइरहेका थिए । तर एक वर्षअघिदेखि चुकेनी जलविद्युत आयोजनाले बिजुली उत्पादन गर्न थालेपछि जिल्लाका अधिकांश घरमा विद्युत पुगेको छ । चुकेनी आयोजनाले पनि बिजुली बेचेर लाखौं आम्दानी गरिरहेको छ ।

चुकेनीमा सदरमुकाम खलंगादेखि डेढ घन्टाको सडक यात्रामा पुगिन्छ । चुकेनीको बिजुली आएदेखि खलंगाले अन्धकार झेल्नुपरेको छैन । चुकेनी सहकारी संस्थाले चुकेनी खोलाबाट ९ सय ९८ किलोवाट बिजुली उत्पादन गरेको हो । यो विद्युतले अहिले महिनामा न्यूनतम ७ लाखदेखि अधिकतम ३० लाख रुपैयाँसम्म कमाइरहेको छ । 

हिउँदमा विद्युतको खपत धेरै हुने गरेको छ । चुकेनीबाट उत्पादित बिजुलीले सदरमुकामसहित जिल्लाका अन्य बजार र गाउँहरू झिलिमिली बनेका छन् । आयोजनाले अहिले पातारासी लासी, तल्फी, चौर, उर्थु र खलंगाका क्षेत्रमा गुणस्तरीय बिजुली दिइरहेको छ । 

आयोजनामा पातारासी गाउापालिकाका ३ हजार ३ सय नागरिकको सेयर लगानी छ । आयोजनाले २०८१ वैशाख १८ गते नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौतापछि बिजुली वितरण सुरू गरेको हो । यस क्षेत्रका विद्यालय, स्वास्थ्यचौकी, होटल व्यवसायहरू, स-साना उद्योग व्यवसायहरूका स्टोरमा भएका विद्युतीय सामग्रीहरू पनि सञ्चालन गर्न सहज भएको छ । पातारासी क्षेत्रमा डिल्लीचौर र डोल्काटीमा लिफ्ट सिाचाइसमेत सञ्चालन भएका छन् ।

कुल ४५ करोड २८ लाख रूपैयाँ लागतमा बनेको आयोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणको वितरण केन्द्र जुम्लामार्फत ७ हजार पाँच घरधुरीमा पुगेको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।