मधेश प्रदेश : मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय

दलहरु छलफलमा व्यस्त, तीन वर्षमा पाँच मुख्यमन्त्री बन्दै
मंसिर १८, २०८२ |अनिल मिश्र
मधेश प्रदेश : मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय

धनुषा । मधेशको राजनीतिक संकट थप गहिरिएको छ । विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै मधेशको राजनीतिक संकट थप गहिरिएको हो ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि भोलि शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

यससँगै मधेश प्रदेशले तीन वर्षमा पाँचौं मुख्यमन्त्री पाउने भएको हो । २०७९ सालको निर्वाचनपछिका ३६ महिनामा मधेश प्रदेश सरकारबाट चार मुख्यमन्त्री बिदा भएका छन् ।

गएको तीन महिनामात्रै मधेश सरकारमा तीन मुख्यमन्त्री नियुक्त भए । मुख्यमन्त्री पदबाट एमालेका सरोजकुमार यादवले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो।

संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कातिक २३ गते एउटा होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो । त्यसलगत्तै सात दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटको सुनुवाइ गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो । यसैबीच, नयाँ सरकार गठनका लागि मधेशमा दलहरु आन्तरिक र सामुहिक छलफलमा जुटेका छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।