मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादवलाई नियुक्त गरेको विरोधमा कांग्रेसहितका सात दल अदालत जाने

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादवलाई नियुक्त गरेको विरोधमा कांग्रेसहितका सात दल अदालत जाने

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादवको नियुक्तिविरूद्ध नेपाली कांग्रेससहित सात राजनीतिक दल रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् ।

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले साेमबार बिहान महोत्तरीको बर्दिबासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज यादवलाई नियुक्त गर्नुभएको थियो । तर सात दलले भने धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको आह्वान गर्न मागसहित सर्वोच्चमा रिट निवेदन दिने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलले प्रदेश प्रमुखको निर्णयविरूद्ध अदालत जाने निर्णय गरेका हुन् । यसैबीच, मधेशमा मुख्यमन्त्री नियुक्तिपछि बढेको विवादलाई लिएर असन्तुष्ट दलका नेता र कार्यकर्ताले मधेश प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीको राजीनामा पनि मागेका छन् ।

बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले साेमबार बिहान बर्दिबासको पानस कटेज पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बर्दिबासको कालापानीस्थित होटल पानसमा साेमबार झिसमिसेमै बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको सपथसमेत गराइएको थियो । 

होटलमै एमाले प्रदेशसभा सदस्य लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य बिमला अन्सारी र राप्रपाकी प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई विना-विभागीय मन्त्रीको सपथ पनि गराइएको छ । यसअघि प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । 

एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो । आइतबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी, लोसपा, नेकपा एस, जनमत र जसपाका प्रदेशसभा सदस्यहरुसँग भेटर २-३ जना विज्ञहरूसँग छलफल गरी मात्रै निर्णय लिने प्रतिबद्धता जनाउनुभएको थियो । तर साेमबार बिहान ३ बजे उपचारका लागि काठमाडौं जान लागेको भन्दै जनकपुरस्थित मधेश प्रदेश प्रमुखको भवनबाट निस्केर उहाँ बर्दिबासको होटलमा पुग्नुभएको थियो ।

रातारात होटलमा बसेर मुख्यमन्त्रीमा एमालेका यादवलाई नियुक्त गर्दा त्यहाँ पनि उहाँको विरोध भएको थियो । उपचारको बहानामा भागेर कटेजमा कार्यालय स्थापना गरेर मुख्यमन्त्री नियुक्ति गरिएकोमा प्रदेश प्रमुख भण्डारीको आलोचना भइरहेको छ ।

याे पनि :

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

मुख्यमन्त्री यादवलाई होटलमा सपथ गराएर प्रदेश प्रमुख भण्डारी काठमाडौं टाप

मधेश मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको कार्यालय तोडफोड


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.