मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

बिरामी भनिएकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिवासको कटेजबाट मुख्यमन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना
कार्तिक २४, २०८२ |अनिल मिश्र
मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त हुनुभएको छ । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान बर्दिवासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज यादवलाई नियुक्त गर्नुभएको हो ।

बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले अहिले बिहान बर्दिवासको पानस कटेज पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ ।

बर्दिवासको कालापानीस्थित होटल पानसमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको शपथसमेत गराइएको छ । होटलमै एमाले प्रदेशसभा सदस्य लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य बिमला अंसारी र राप्रपाकी प्रदेशसभा सदस्य कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।

यसअघि प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो ।

आइतबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी, लोसपा, नेकपा एस, जनमत र जसपाका प्रदेशसभा सदस्यहरुसँग भेटर २/३ जना विज्ञहरुसँग छलफल गरी मात्रै निर्णय लिने प्रतिबद्धता जनाउनुभएको थियो । तर आज बहिान ३ बजे उपचारका लागि काठमाडौं जान लागेको भन्दै जनकपुरस्थित मधेश प्रदेश प्रमुखको भवनबाट निस्केर उहाँ बर्दिवासको पानस होटलमा पुग्नुभएको थियो ।

रातारात होटलमा बसेर मुख्यमन्त्रीमा एमालेका यादवलाई नियुक्त गर्दा त्यहाँ पनि उहाँको विरोध भएको छ । उपचारको बहानामा भागेर कटेजमा कार्यालय स्थापना गरेर मुख्यमन्त्री नियुक्ति गरिएकोमा प्रदेश प्रमुख भण्डारीको आलोचना भइरहेको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।