एनपीएलमा लुम्बिनी लायन्सको तेस्रो जित

मंसिर १७, २०८२ |खेल ब्युरो
एनपीएलमा लुम्बिनी लायन्सको तेस्रो जित

काठमाडौं । प्लेअफ संघारमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले स्तब्ध बनाउँदै लुम्बिनी लायन्सले एनपीएलमा तेस्रो जित दर्ता गरेको छ। 

टीयू क्रिकेट रंगशालामा पहिले फिल्डिङ रोजेको लुम्बिनीले दुवै इनिङमा सम्हालिएको प्रदर्शन गर्दै लिगमा तेस्रो जित दर्ता गरेको हो। लुम्बिनीलाई जित दिलाउन ओपनर डार्सी सर्टले सानदार प्रदर्शन गरेका थिए। स्टिकी पिचका कारण बुधबारको खेल ठूलो स्कोरको बन्न सकेन । 

विराटनगरले पूरा ओभर खेलेर ८ विकेट क्षतिमा एक सय ४४ रन बनाएको थियो। ओपनर जर्ज मुन्जी शून्य र फाफ डु प्लेसी १२ रनमा आउट भए। विराटनगरले १५ रन जोड्दा दुवै ओपनर गुमाएको हो। लिगका हाइप्रोफाइल खेलाडी डु प्लेसीलाई १२ रन बनाएको अवस्थामा शेर मल्लले डिकवेलाबाट क्याचआउट गराए।

त्यसपछि लोकेश बम र शाम हेजलेटले ५५ रनको साझेदारी गरेर इनिङ्स निर्माण गरेका हुन्। लोकेशले आफ्नो पारी ठूलो रनमा परिणत गर्न नसकेको भए पनि ४२ बलमा सर्वाधिक ३५ रन बनाएका थिए। उनलाई जेजे स्मिथले कट एन्ड बोल्ड गरे। हेजलेटले २० बलमा तीन बाउन्ड्रीसहित २७ रन जोडे। नारायण जोशी ५, प्रतिस जिसी ११ र मर्चेन्ट डि ल्याङ्गेले १० रन जोडे। बसिर अहमदले २८ रन खेलेर अन्तिममा विराटनगरलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याएका हुन्।

आजको खेलमा शेर मल्लले ४ ओभरमा २५ रन खर्चिएर तीन विकेट लिए। स्मिथ, रुबेन ट्रम्पलमन र अभिषेक गौतमका नाममा एक- एक विकेट रह्यो। जवाफमा लुम्बिनीले १७ ओभर चार बलमा पाँच विकेट गुमाएर एक सय ४५ रनको लक्ष्य पुरा गरेको हो। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सम्हालिएर खेल्दै अर्धशतक बनाएर जितको आधार तयार गरिदिए। 

ओपन सुमित महर्जन १० र कप्तान रोहित पौडेले शून्यमा आउट भए। पाँचौ ओभरमा सुवास भण्डारीले लगातार दुई विकेट लिएर विराटनगरलाई ब्रेकथ्रु दिलाए पनि पूर्वेली टिमले मोमेन्टम कायम राख्न सकेन। त्यसपछि सन्दिप जोराले सर्टसँग ३७ रनको साझेदारी गर्दै २४ रन जोडेर आउट भए। सर्टले निकोरशन डिकेवालासँग पनि ५६ रनको पार्टनरसिप गरेपछि लुम्बिनी सहज अवस्थामा पुगेको हो।

विराटनगरका मार्की खेलाडी सन्दीपले दुई विकेट लिएको भए पनि बाँकी बलरले लुम्बिनीका ब्याटरलाई दबाबमा राख्न सकेनन्। यो जितपछि प्ले अफको समिकरण पेचिलो बन्दै गएको छ। विराटनगरले एक खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाएको छ भने लुम्बिनीले चौथो स्थानमा उक्लिएर अन्तिम चारको दौडमा पकड बनाउँदै लगेको छ।