आधा झुकेको झन्डा र पूरा छरिएको विरोध

श्रावण १०, २०८१ |मिमराज पाण्डेय
आधा झुकेको झन्डा र पूरा छरिएको विरोध

काठमाडौं । क्याप्टेनसहित १९ जना यात्रु बोकेको सौर्य एयरलाइन्सको जहाज बुधबार दुर्घटनामा पर्‍यो । क्याप्टेन मनिषरत्न शाक्यबाहेक सबैले ज्यान गुमाए । घाइते बनेका क्याप्टेन शाक्य अहिले उपचाररत हुनुहुन्छ ।

दुर्घटना भएकै दिन हिजो मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठकले उक्त जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गर्‍यो । जसअनुसार राष्ट्रिय झन्डा आज आधा झुकाइयो पनि । यस्तो दुखद घडीमा सबै शोकमा हुनु स्वाभाविक हो । परिवारजन र आफन्त गुमाउँदाको पीडामा रहेकाहरूप्रति सान्त्वना र सहानुभूति प्रकट गरिनु स्वाभाविक नै हो । र, सरकारले यस शोकको घडीमा आधा झुकाउने निर्णय गर्नु पनि अस्वाभाविक होइन तर सरकारको यस निर्णयको अहिले सर्वत्र विरोध र चर्को आलोचना भइरहेको छ ।

गत असार २८ गते नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा यात्रुले भरिभराउ दुईटा बस पहिरोले बगायो । त्रिशूली नदीमा बेपत्ता भएका ती दुवै बस र त्यसमा हराएका ६३ जना यात्रुमध्ये ३७ जना अझै भेटिएका छैनन् । घटनाको १४ दिन बित्यो, खोजी जारी छ । अहिलेसम्म २५ वटा शव मात्रै फेला परेको प्रहरीले जनाएको छ । मानवीय क्षतिका हिसाबले बुधबार भएको जहाज दुर्घटना भन्दा ‘सिमलताल बस दुर्घटना’ पक्कै पनि ठूलो र उति नै दुखदायी पनि हो ।

केमा हो त आलोचना ?

आलोचनाको मूल कारण ‘राज्यले शोकमा पनि विभेद गर्‍यो’ भन्ने नै हो । त्रिशूलीमा दुई बस बेपत्ता भए । हराएका ६२ जनामध्ये २५ यात्रुको शव नै भेटिएको छ भने ३७ जनाको अवस्था अझै अज्ञात छ । तर सरकारले हिजो भएको हवाई दुर्घटनालाई राष्ट्रिय शोक मान्यो तर त्रिशूलीको उक्त दुर्घटनालाई किन शोक मानेन भन्ने अधिकांशको तर्क छ । सरकार त्यस बेला पनि थियो- त्यति ठूलो दुर्घटनाको संवेदनशीलता सरकारले बुझेन भन्ने आरोप यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल छ ।

अब एक नजर सामाजिक सञ्जाल एक्सतिर दौडाऔँ । एक्समा डा. रामेश कोइरालाले लेख्नुभएको छ–

२ अर्बको प्लेन (६८जना) : सार्वजनिक बिदा !

८० करोडको प्लेन (१८ जना) : आधा झन्डा झुकाउने !

१ करोडका दुई बस (६२जना) : छानबिन समिति !

शोकको मानक नागरिकको मृत्यु सङ्ख्या हो वा सवारी साधनको मूल्य ?

उहाँको यो पोस्ट एक्समा धेरै पटक ‘रिपोस्ट’ गरिएको छ ।

यस्तै नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पनि बस दुर्घटनाबाट भएको मृत्युलाई कम आकलन गरिएको जस्तो देखिएको टिप्पणी गर्नु भएको छ । ‘हवाई दुर्घटनामा छानबिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियम अनुरूप गर्नै पर्ने हो । दुर्घटना बीमामा छानबिनको खर्चसमेत समावेश हुन्छ,’ पौड्याल लेख्नुहुन्छ, ‘झन्डा झुकाउने निर्णय र उद्धारमा उच्च तहको चासो बस दुर्घटनामा तीनगुना मान्छे मरेकोमा देखाएन कि ?  बसको मृत्युलाई कम आकलन गरिएको जस्तो देखियो ।’

रंगकर्मी घिमिरे युवराजले ‘जमिनमा कहिल्यै नगुड्नु’ भन्दै व्यङ्ग्यात्मक शैलीमा लेख्नु भएको छ- ‘हामीले देशमा अचम्मको समाजवाद ल्यायौँ । गजबको लोकतन्त्र ल्यायौँ । राज्य भन्छ-जस्तै अवस्थामा पनि आकाशमै उड्नु । जमिनमा कहिल्यै नगुड्नु । नत्र मरिहाले झन्डा झुक्ने छैन । मरेपछि झन्डा !!!’

लेखक तथा टिप्पणीकार यादव देवकोटाको प्रतिक्रिया भने अलि फरक छ । ‘आफ्ना लठैतहरुलाई नियुक्ति दिएर उड्डयन प्राधिकरणलाई असुली अड्डा बनाउने । टेक्निकल चेकको लागि उड्ने भनेको जहाजमा को उडिरहेको छ भन्नेसम्म जानकारी नहुने,’ उहाँ भन्नुहुन्छ, ‘तिमीहरूको औकात झुकेको र लत्रेको लुकाउन देशको झन्डा झुकाउने?

टिप्पणीकार अपार न्यौपाने ‘यो आधा झन्डा झुकाउने दिन मन्त्रीको गाडीको झन्डा कति झुक्छ ?,’ सटिकमा लेख्नु हुन्छ । 

लेखक तथा सम्पादक निर्भिकजंग रायमाझीले ‘केही साताअघि बस दुर्घटना र अहिले जहाज दुर्घटनापछि’ मृत्युको पनि तह/वर्ग देखिएको टिप्पणी गर्नु भएको छ । उहाँले यस प्रसङ्गमा जोड्दै आफ्नो पुरानो कविता ‘जीवनको खातामा मृत्यु’ सेयर गर्नु भएको छ :-

कोहीको मृत्यु हुन्छ

कोहीको निधन हुन्छ

कोहीको महाप्रस्थान

त कोहीको देहावसान हुन्छ ।

कोही यस्सै मर्छन्

कोहीले चोला त्याग्छन्

कोही-कोही स्वर्गे हुन्छन्

कोहीले वीरगति पनि प्राप्त गर्छन्

कोही कालगतिले मर्छन् ।

मान्छेको भाषामा त अनेक-अनेक हुन्छ

तर जीवनको खातामा, मृत्यु एक हुन्छ !

शैक्षिक मासिकका सम्पादक राजेन्द्र दाहालले भने आधा झन्डा झुकाउने, छानबिन आयोग बनाउने आदि तदारुकतामा खराबी नभएको बताउनु भएको छ । तर भोलि कतै ‘हवाई दुर्घटनामा परी भएको मृत्यु उत्तम अनि सडक दुर्घटनाको मृत्यु अधम' भनेर मृत्युको पनि वर्गीकरण हुन नथालोस् भन्दै उहाँले सजक पनि गराउनु भएको छ ।

यी त प्रतिनिधि अभिव्यक्तिहरू मात्रै हुन् । बस दुर्घटना र विमान दुर्घटनाबारे तपाईँहरूले पनि आफ्ना भावना र अनुभूति व्यक्त गर्नुभयो होला । दुर्घटना र त्यसपछिका खोजी तथा उद्धारमा भएका कमीकमजोरीहरूमाथि टिका टिप्पणी गर्नुभयो होला । तर जे होस्- जुनसुकै विपत्तिमा पनि सरकारले विभेद नगरोस् । नेपालजस्तो बहुप्रकोपीय जोखिममा रहेको देशमा सबैजना विपद्सँग जुध्न सक्ने, एक अर्कालाई सघाउन र जोगाउन सक्ने क्षमता बनाउन् । सरकारले सिमलताल बस दुर्घटना र शौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट सिकोस् । जनताको जीवन र आफ्नो लाज बचाओस् ।

सम्बन्धित समाचार...

त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

सौर्य एयरलाइन्समा यसरी जोडिनु भएको थियो पाइलट मनिषरत्न शाक्य

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनमा २०७९ को असोजदेखि २०८१ सालको मंसिरसम्म उपसम्पादकको भूमिकामा कार्यरत थिए । सामाजिक सञ्जालहरूमा उनलाई @mrpandeya लेखेर खोज्न सकिन्छ ।


Enter Kantipur TV HD
Advertisement