कतिपय क्षेत्रमा दलका नेतामाथि ‘सुरक्षा थ्रेट’- नेपाली सेना

मंसिर १९, २०८२ |प्रकाश बम
कतिपय क्षेत्रमा दलका नेतामाथि ‘सुरक्षा थ्रेट’- नेपाली सेना

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मुख्य राजनीतिक दलसहितको सर्वपक्षीय बैठकमा नेपाली सेनाले कतिपय निर्वाचन क्षेत्रमा दलका नेताहरूमाथि सुरक्षा चुनौती हुन सक्ने ब्रिफिङ गरेको छ।

निर्वाचनका लागि काम र तयारीका बारेमा छलफल गर्न सरकारले शुक्रबार बोलाएको बैठकमा नेपाली सेनाले यस्तो ब्रिफिङ गरेको हो। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षाबारे ब्रिफिङ गरेका थिए। नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलले निर्वाचनको प्रचारका क्रममा कतिपय जिल्लामा दलका नेता र उम्मेदवारहरू असुरक्षित हुन सक्ने उल्लेख गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

आफूले पहिचान गरेको ‘सुरक्षा थ्रेट’ दलका नेताहरूलाई हुन सक्ने खतराका बारेमा रिपोर्टिङ भएको सेनाको भनाइ छ। निर्वाचन सुरक्षाकै विषयलाई लिएर दलहरूले प्रश्न गरिरहेका बेला भएको छलफलमा सेना प्रमुखले यो विषयलाई महत्वका साथ उठाएको ती नेताले बताए।

आफूहरू सुरक्षा दिन तयार रहेको सिग्देलको भनाइ थियो। परिस्थिति नियन्त्रणमा राख्नका लागि सरकार र दलहरूले निर्वाचनको वातावरण बनाउन एकसाथ लाग्नुपर्ने उहाँको सुझाव थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले धार्मिक र राजनीतिक मुद्दा लिएर गतिविधि गर्दै आएका समूहहरूबाट सुरक्षा चुनौती हुन सक्ने ब्रिफिङ’ गरेका थिए। 

यस्ता गतिविधिले हिंसात्मक रूपसमेत लिन सक्ने भन्दै संयम अपनाउनुपर्नेमा प्रहरी प्रमुख दानबहादुर कार्कीको जोड थियो। निर्वाचनका लागि चुनौती हुन सक्ने समूहहरूको पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै उहाँले त्यस्ता समूहरूका गतिविधिलाई पनि आफूहरूले नजिकबाट नियालिरहेको बताउनुभयो।

निर्वाचन आयोगले सामाजिक सञ्जालमा आउने सूचना र कू-सूचनाहरूको निगरानी गर्ने आफ्नै संयन्त्र निर्माण गरिरहेको बताउँदा प्रहरी प्रमुख कार्कीले फेसबुकलगायतका सञ्जालहरूमा भड्कावपूर्ण अभिव्यक्तिबाहेक फेक इन्फर्मेसनहरूमार्फत सद्भाव र निर्वाचनको वातावरण खलबल्याउने खालका गतिविधि हुन सक्ने र त्यसले हिंसासमेत निम्तिन सक्ने हुँदा त्यसतर्फ सुक्ष्म रूपमा काम भइरहेको उल्लेख गर्नुभएको थियो।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटका बारेमा अध्ययन भइरहेको बताउनुभयो। सरकारका प्रवक्ता जगदीश खरेलले बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका क्रममा हुन सक्ने सुरक्षा चुनौतीहरूका बारेमा ब्रिफिङ गरेको उल्लेख गर्दै सबै पक्षलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। खरेलले भन्नुभयो, 'चुनावमा भाग नलिन दल र समुहबाट पनि थ्रेट हुन सक्छ, प्रचारप्रसारको क्रममा दलबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ र त्यसले पनि मुठभेड निम्त्याउन सक्छ। विगतमा हुने चुनौती र अहिले भएका मिसइन्फर्मेन, डिसइन्फर्मेसन, साइबर थ्रेटका विषयमा ब्रिफिङ भएको छ। खुलेर कुराकानी भएको छ।'

सुरक्षा चुनौतीहरू चिर्नका लागि सरकार र राजनीतिक दलहरूबीच संवादलाई निरन्तरता दिँदै विश्वासको वातावरण बनाउनुपर्नेमा सुरक्षा निकायका प्रमुखहरूले जोड दिएका थिए।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।