
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको प्लेअफ समीकरण पुरा भएको छ।
शुक्रबार भएको एकमात्र खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले शीर्ष चारमा स्थान पक्का गरेसँगै प्लेअफको समीकरण पुरा भएको हो। यो खेलसँगै जनकपुर, चितवन र पोखराको यात्रा लिग चरणमा नै समाप्त भएको छ। जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सही सावित भएन । निकोल लोफ्टी इटनको टिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो। जनकपुरका ओपनर माज सदाकत ६, अनिल साह सात र आसिफ शेख २० रनमा आउट भएका थिए।
शुभ कंसाकर ११ र संजय कृष्णमुर्ति १४ तथा कप्तान इटन शून्यमा आउट भएपछि जनकपुर संकटमा पुगेको हो। अन्तिममा संगीथ कोरेले मयन यादवसँग ४९ रनको साझेदारी गरेर स्कोरलाई प्रतिस्पर्धा हुने स्तरसम्म पुर्याएका हुन्। जनकपुरलाई सस्तैमा रोक्न लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले समान २-२ विकेट लिएका थिए।
एक सय ३३ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको लुम्बिनीले १९ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३३ रनको लक्ष्य पुरा गरेको हो। ओपनर सुमित महर्जन गोल्डेन डक भए पनि डार्सी सर्ट र रोहितले ६१ रनको उत्कृष्ट साझेदारी गरेका थिए। रोम्रो सुरुआत दिलाएका डार्सी २४ बलमा ३० रन बनाएर आउट भए। रोहितले पनि ३२ बलमा ३४ रनको योगदान गरे।सन्दीप जोरा गोल्डेन डक हुने अर्को खेलाडी बने।
जजे स्मिथले २१ तथा दिलिप नाथले १५ रन जोडेर लुम्बिनीलाई जितसम्म पुर्याएका हुन्। मयन र कोरेले राम्रो बलिङ गरेपछि लुम्बिनीले पनि सहज रूपमा इनिङ्स समाप्त गर्न सकेन। उनीहरुले मध्यम स्कोरका लागि पनि खेललाई अन्तिम ओभरसम्म पुर्याउनु परेको थियो।
संगीथले तीन विकेट लिए भने मयनले दुई विकेट आफ्नो नाममा गरेका थिए। लिग चरणमा अब तीन खेल मात्रै बाँकी छ। शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। यो खेलबाट क्वालिफायरमा पूग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। चितवन राइनोजले पोखरा एभेन्जर्ससँग खेल्ने तालिका छ।