
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षका दाबेदारहरू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिनिधिलाई आ-आफ्ना पक्षमा पार्ने होडबाजीमा छन् ।
तर, अन्य १५ पदाधिकारीसहित २ सय ५१ केन्द्रीय सदस्यमा दाबी गर्नेहरू धेरै हुँदा प्रतिस्पर्धा चर्को हुनेमात्र होइन व्यवस्थापन गर्नसमेत नेतृत्वलाई अप्ठेरो पर्ने देखिएको छ । यही मंसिर २७ गते हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिनिधिलाई आ-आफ्ना पक्षमा पार्ने होडबाजीमा उत्रिइसकेका छन् ।
कसका पक्षमा कुन नेता भनेर सामाजिक सञ्जालमा प्रचारबाजीसमेत सुरू भइसकेको छ । तर १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय समितिका लागि दर्जनौं नेताले आकांक्षा देखाउँदा प्रतिस्पर्धा चर्को हुनेमात्र होइन नेता व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ । तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव पदका लागि पाकादेखि युवा पुस्तासम्मले दाबी गरिरहेका छन् ।
अध्यक्षका दाबेदारहरू ओली र पोखरेलले छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रने बताइरहे पनि कुन नेताले कसको पक्षबाट प्रतिश्पर्धा गर्ने भन्ने अझै किटान भइसकेको छैन । पोखरेलको पक्षमा खुलेका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे पुन: उपाध्यक्षमै दोहोरिने निश्चितजस्तै छ ।
तर पोखरेल पक्षमै रहेका सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट भने कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने अझै खुलेको छैन । पोखरेलपक्षले पाण्डे र भट्टराईमध्ये एक जनालाई महासचिव उठाउने जनाइएको छ । उता ओली समूहले पनि महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली वा पृथ्वी सुब्बा गुरूङमध्ये एक जनालाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ । तर अहिले दुवै पक्ष पर्ख र हेरको अवस्थामा रहेको छ । युवा पुस्ताको आकांक्षा भने पदाधिकारीमै छ ।
ओलीपक्षबाट पाका तथा नयाँ पुस्ता दुवैले पदाधिकारीमा दाबी गरिरहेका छन् । उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, गुरू बरालले उपाध्यक्षमै दोहोरिने चाहना राखेका छन् भने सचिवमा पद्मा अर्याल र लेखराज भट्ट दोहोरिने मनस्थितिमा रहेका छन् । उपमहासचिवमा पनि यसपटक विष्णु रिमालले नै चाहना राखेका छन् ।
यसपटक स्थायी समिति सदस्यहरू कोशीबाट शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल राजेन्द्र गौतम तथा पोलिटब्यूरो सदस्य विशाल भट्टराई र केन्द्रीय सदस्य सुनिता बरालले सचिवमा रूची देखाएका छन् । मधेशबाट लिलानाथ श्रेष्ठ, जुली महतो र ज्वाला साह, बागमतीबाट राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, विन्दा पाण्डे, महेश बस्नेत,रचना खड्का तथा महेश बर्तौला पदाधिकारीको आकांक्षी देखिएका छन् ।
सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्ण थापा प्रतिस्पर्धाको रिङमा देखिएका पात्र हुन् भने कर्णालीबाट यामलाल कँडेल तथा गोरख बोगटी आकांक्षी देखिएका छन् । गण्डकीबाट पद्मा अर्याल, खगराज अधिकारी किरण गुरूङ र पोलिटब्यूरो सदस्य पदम गिरी प्रतिस्पर्धी रहेका छन् ।
लुम्बिनीबाट छविलाल विश्वकर्मा दोहोरिने पक्षमा हुनुहुन्छ भने खिमलाल भट्टराई, ठाकुर गैरे र सूर्य थापा पदाधिकारीको आकांक्षीमा देखिएका छन् । यसपटकको महाधिवेशनमा ४० वर्षमुनिका १ सय ७६ भन्दा बढी प्रतिनिधि चयन भएकाले केन्द्रीय सदस्यमा पनि प्रतिस्पर्धा चर्को हुने देखिन्छ ।