
काठमाडौं । सरकारले निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिन तयार रहेको प्रतिबद्धता जनाउँदै निर्वाचनको वातावरण बनाएर सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
बालुवाटार शुक्रबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउने विषयमा दलहरूलाई आश्वस्त पार्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उहाँको भनाइ थियो ।
छलफलमा सहभागी अन्य दलहरूले निर्वाचनमा जान तयार रहेको बताए पनि नेकपा एमालेका प्रतिनिधिहरूले भने सुरक्षा चुनौती कायमै रहेको अवस्थामा निर्वाचनमा हुनेमै आशंका व्यक्त गरेका थिए । उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकिएकोमा पनि आपत्ति जनाएका थिए ।
छलफलमा सरकारले निर्वाचन तयारीबारे ब्रिफिङ गरेको थियो भने सुरक्षा निकायका प्रमुखहरूले पनि सुरक्षा तयारीबारे जानकारी गराएका थिए । बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंकर पोखरेल, महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत, प्रकाश ज्वाला, रास्वपाबाट सोविता गौतम र शिशिर खनाल सहभागी हुनुहुन्थ्यो ।
यस्तै राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरूङ, जसपा नेपालबाट प्रकाश अधिकारी, जनमतबाट नरेन्द्र चौधरी सहभागी हुनुहुन्थ्यो । छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि उपस्थिति थिए ।