वैदेशिक लगानी स्वीकृति दोब्बर देखिए पनि वास्तविक भित्रिने रकम घट्यो

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक लगानी स्वीकृति दोब्बर देखिए पनि वास्तविक भित्रिने रकम घट्यो

काठमाडौं । वैदेशिक लगानी प्रतिबद्धता गत वर्षको तुलनामा दोब्बर बढी आएको देखिए पनि भित्रिने वास्तविक रकममा भने कमी आएको छ । 

चीनमा राँगाको मासु निर्यात गर्ने गरि सिन्धुलीमा २० अर्बको लगानी आउँदा लगानी स्वीकृति बढेको देखिए हो । तर, माग नबढेका कारण स्वदेशी लगानीकर्ता नै लगानी नगरी बसेपछि विदेशी लगानीकर्ताले यसअघि स्वीकृत गरेको रकमसमेत ल्याएका छैनन् ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३ सय ८२ वटा उद्योगका लागि ३६ अर्ब ६८ करोडको लगानी स्वीकृत भएको छ । पछिल्लो समय अटोमेटिक रूट अर्थात् कागजात लिएर कार्यालय नआई वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्थाका कारण पनि लगानी स्वीकृति गराउने क्रम बढेको देखिएको हो । 

गत आर्थिक वर्षको कात्तिकसम्म १ सय ९ वटा उद्योगमा १ अर्ब ६२ करोड अटोमेटिक रूटबाट स्वीकृत भएकोमा यो वर्षको सोही अवधिमा २ अर्ब ३६ करोडको स्वीकृति भएको छ । गत वर्ष कात्तिकसम्म १८ अर्ब ६५ करोडको कुल लगानी स्वीकृति भएकोमा यो वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड आएको हो । तर, नेपालमा भित्रने लगानी भने गत वर्षको तुलनामा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानीको रूपमा भित्रिएको छ । जबकि अघिल्लो वर्षको असोज मसान्तसम्म ४ अर्ब ८१ करोड भित्रिएको थियो । यसले पछिल्लो समय वैदेशिक लगानीकर्ताहरू यसअघि स्वीकृत गरेको लगानी समेत नेपालमा भित्राउन आनाकानी गरिरहेको देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.