
काठमाडौं । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको विशेष अदालतमा बयान सकिएको छ ।
बयान सकिए पनि शुक्रबार थुनछेक बहस भने भएन । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा थुनछेक बहसका लागि पेसी तोकिएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस हुनुपर्ने भए पनि एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि थुनछेक बहस हुन नसकेको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिनुभयो ।
विशेष अदालतका अध्यक्ष पौडेलले प्राधिकरणमा महानिर्देशक रहेका अधिकारीसँग जोडिएको एक मुद्दाको फैसला उच्च अदालतमा रहँदा सुनुवाइ गरेका कारण हेर्न नमिल्ने भएको हो । बयान सकिएको उक्त मुद्दाको अर्को पेसी आइतबार राखिएको छ।बुधबार अख्तियारले अधिकारी र भण्डारीलाई पक्राउ गरी ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तारेख बुझ्न अख्तियार पुगेका दुवै जनालाई त्यहीँबाट पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रूपैयाँ ७७ पैसा बिगो र त्यति नै जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित विशेष अदालतमा बुधबार मुद्दा चलाएको हो।
यसैबीच, प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ कसूर मुद्दाको अनुसन्धानका लागि दोस्रो पटक दुई दिन म्याद थप भएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासले थप दुई दिन म्याद थप हुने आदेश गरेको हो । राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरित प्रभु बैंकलाई हानीनोक्सानी पुर्याएको कसुरमा संलग्न रहेको भन्दै सीआईबीले उहाँहरूलाई पक्राउ गरेको हो ।