
काठमाडौं । काठमाडौं उपत्यकामै सबैभन्दा धेरै जाम हुने कोटेश्वर क्षेत्रको सवारी आवागमन सहज बनाउन यो क्षेत्रमा सुरूङमार्ग र फ्लाइओभर बन्ने भएको छ।
तर काम सक्नका लागि भने कम्तिमा ६ वर्ष लाग्नेछ। सरकारी अध्ययनहरूका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी ट्राफिक जाम हुने क्षेत्र हो- कोटेश्वर । कोटेश्वर हुँदै दैनिक १ लाख ४२ हजार सवारी साधन आवत-जावत गर्ने गरेको सडक विभागको तथ्यांकले देखाएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ प्रत्येक घन्टा १५ हजार गाडी कुद्छन्। अध्ययन भन्छ- यात्रुलाई बिहानको व्यस्त समयमा कोटेश्वरको जाम छिचोल्न २० देखि २५ मिनेट समय लाग्छ। दुरीका हिसाबले जडिबुटीदेखि तिनकुनेसम्म जम्मा १.८ किलोमिटर छ तर यो खण्डमा साँझ पनि उत्तिकै चाप हुने गरेको छ।
चालक र यात्रु मात्र होइन, सवारी व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी पनि यो क्षेत्रमा हायलकायल हुने गरेका छन्। यी सबै समस्याको निराकरण गर्न भन्दै सरकारले कोटेश्वरको तीनकुने-जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास बनाउने तयारी गरेको छ । बुधबार मात्रै सरकारले जापान सरकारसँग ऋण सम्झौता गरेको छ ।
सम्झौताअनुसार जापानले यो आयोजनाका लागि ३१ अर्ब ७६ करोड रूपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने छ । जाइकामार्फत प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने छ । यसको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले गर्ने छ ।
कस्तो बन्छ संरचना ?
तीनकुने पुलबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम-दक्षिण कुनामा रहेको मुनिभैरव मन्दिरसम्म ६ सय ६४ मिटरको फ्लाइओभर निर्माण गर्ने तयारी छ । मन्दिरबाट विमानस्थलको छेवैछेउ पेप्सिकोलासम्म ६ सय १० मिटर लामो कट एन्ड कभर मोडलको सुरूङ निर्माण हुनेछ। त्यस्तै पेप्सिकोलादेखि जडिबुटीस्थित मनोहरा खोला पुलसम्म पुन: २ सय ३८ मिटर लामो फ्लाइओभर बनाउने तयारी छ ।
कहिलेसम्म बन्छ त यो संरचना ?
हाल यो संरचनाको पूर्वसम्भाव्यता अध्ययन मात्र सकिएको छ । अध्ययनले संरचना निर्माण गर्न सकिने र संरचना बनेपछि ट्राफिक व्यवस्थापन सहज हुने देखिएको छ । ऋणको टुंगो बल्ल लागेको अवस्थामा अब डिजाइनका लागि परामर्शदाता छनोट गर्ने तयारी छ । डिजाइन सकेपछि दुई वर्षभित्र ठेक्का आह्वान गर्ने र निर्माण थाल्ने सरकारी तयारी छ । तर, विज्ञहरू भने ऋण लिएर पूर्वाधार निर्माण गर्नुभन्दा सार्वजनिक यातायात सुधार गर्नुपर्ने जिकिर गर्छन् ।
सरकारले काठमाडौं उपत्यकाका आधा दर्जन स्थानमा फ्लाइओभर र अन्डरपासको अध्ययन गरिरहेको छ । यसै वर्ष ग्वार्को फ्लाईओभर सञ्चालनमा आयो तर, ग्वार्कोको सवारी जाम सातदोबाटो र कोटेश्वरमा सरेको छ । हो, यसरी नै संरचना त बनाउने तर, दीर्घकालिन समाधान नहुनाले वार्षिक करोडौं रकम ट्राफिक व्यवस्थापन सम्बन्धी पूर्वाधार निर्माणमा खर्चिनु पर्ने स्थिति छ । त्यस्तै यात्रुले भोग्नु पर्ने सास्ति त कति हो कति । तपाईँलाई के लाग्छ ? के सरकारले बनाउने यस्ता पूर्वाधारले यात्रु र सवारीको आवागमनलाई सहज बनाउला ?