
काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित उच्चस्तरिय छानबिन आयोगले समय थप गरेर भए पनि राजनीतिक नेतृत्वको बयान लिने भएको छ ।
त्यसका लागि आयोगले थप समय माग गर्ने तयारी गरेको छ । सरकारले आयोगलाई दिएको तीन महिनाको समयसीमा आगामी पुस ८ गते सकिँदैछ । तर, अहिलेसम्म पनि आयोगले ड्युटीमा खटिएका प्रहरीकै बयान लिइ सकेको छैन । आयोगले प्रशासनिक नेतृत्वपछि मात्रै राजनीतिक नेतृत्वको बयान लिने तयारी गरेको छ ।
यो समयसीमाभित्र बयान पुरा गरेर आयोगले उजुरीको पनि अध्ययन गर्नुपर्नेछ । त्यसपछि प्रतिवेदन तयार पार्न समय कम हुने आयोगको बुझाइ छ । त्यसैले थप समय माग गर्न लागेको आयोग श्रोतले जनाएको छ । आयोगले राजनीतिक नेतृत्व बयानमा नआए सरकारको सहयोग लिने तयारी पनि गरेको छ ।
राजनीतिक नेतृत्वलाई आगामी साता बयानका लागि उपस्थित हुन पत्र पठाउने र बयान लिने तयारी आयोगको छ । आयोगले अझै केही विवरण नआइपुगेको जिकिर गर्दै समानान्तर हिसाबमा प्रतिवेदन लेखन र बयान लिने काम भैरहेको जनाएको छ ।