एकै वर्ष भ्रष्टाचारका २१ हजार उजुरी !

राजनीतिक आडमा भएका भ्रष्टाचारमा अख्तियार मूकदर्शक
माघ २८, २०८० |दीपक आचार्य
एकै वर्ष भ्रष्टाचारका २१ हजार उजुरी !

काठमाडौं । सूचकांकअनुसार नेपाल भ्रष्टाचार व्याप्त देशमा पर्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले गत साता सार्वजनिक गरेको तथ्यांकमा नेपालको अवस्था एक दशकदेखि निकै कमजोर रहेको देखाउँछ । तर नियन्त्रणको बलियो प्रतिबद्धता गर्नुको साटो प्रधानमन्त्री पुष्पकमल दाहाल आज अख्तियार दिवसको कार्यक्रममा पुगेर दुई अंकको सुधार देखाइ फेल भएको अंकमा मख्ख पर्दै भ्रष्टाचार निवारणमा सुधार भएको दाबी गर्न भ्याए ।

प्रधानमन्त्री दाहालको यो दाबीले भ्रष्टाचारमा नेपालको दूरावस्थालाई मात्रै गिज्याउँदैन, बेथिति ढाकछोपमा नेतृत्वको प्रयासलाई पनि प्रस्ट पार्छ । किनभने दुई अंक माथि उक्लिँदा पनि सूचकांकमा नेपालले जम्मा ३५ अंक मात्रै पाएको छ । अर्थात भ्रष्टाचारमा विश्वका १८० मुलुकमध्ये नेपाल १०८औं स्थानमा छ ।

भ्रष्टाचारको चंगुलमा देश पुग्दा त नेतृत्वले सुधारका लागि योजनाबद्ध वाचा पो गर्नुपर्ने । तर राष्ट्रपतिले ठूला माछा नसमातिएको भन्दै अमूर्त कुरा गर्छन् । अनि भ्रष्टाचार नियन्त्रणको नेतृत्व गरेका अख्तियार प्रमुखले नै जनतालाई सन्तुष्ट बनाउन नसकिएको बताउँछन् ।

कागजमा सुशासनका कुरा छन् तर र काममा राजनीति र प्रशासनिक आडमा बिचौलिया, कमिसनतन्त्र र भागबन्डाकै रजगज भएको तथ्यांकले औंल्याइरहेको छ । अख्तियारमा दलगत आयुक्त नियुक्तिदेखि नीतिगत रुपमै गरिने चलखेलले भ्रष्टाचारलाई बढाएको छ ।

भ्रष्टाचारका काण्डै-काण्डका अख्तियारमा उजुरीमाथि उजुरी छन् । वाइड बडी, यती, ओम्नी, ललिता निवास र भुटानी शरणार्थीदेखि लडाकु शिविरको आर्थिक हिनामिना पनि सत्ता र शक्तिको स्वार्थमै अल्झेका ठूला भ्रष्टाचारका घटना हुन् ।

मन्त्रिपरिषद्‌मा बसेर अख्तियार धाउने बहालवाला स्वास्थमन्त्री मोहनबहादुर बस्नेत, सांसद ज्ञानेन्द्रबहादुर कार्कीदेखि मुख्यसचिव वैकुण्ठ अर्यालसमेत अख्तियारको छानबिनको दायरामा छन् ।

राष्ट्रप्रमुख, सरकार प्रमुख र अख्तियार प्रमुखकै भनाइले अख्तियारले राम्रोसँग काम गर्न नसकेको स्पष्ट देखिन्छ ।

नेपालमा आर्थिक, नीतिगत र नैतिक भ्रष्टाचार व्याप्त छ । नैतिक रुपमा ठीक नेतृत्वले नीतिगत चलखेल गर्दैन र आर्थिक भ्रष्टाचार हुँदैन । यो कुरा व्यवहारमा गर्ने हो । भाषणले मात्रै देशमा भ्रष्टाचार कम हुँदैन । नेपालमा एकै वर्षमा भ्रष्टाचारका झन्डै २१ हजार उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक छ ।

यो पनि...

अख्तियारको काम किन प्रभावकारी हुन सकेन ? (अन्तर्वार्ता)

भ्रष्ट प्रवृत्तिले नैतिक धरातल मात्रै भासिँदैन राष्ट्रियता नै कमजोर बन्न पुग्छ : राष्ट्रपति पौडेल

ठूला भ्रष्टाचारका घटनालाई सरकारले अनुसन्धानको दायरामा ल्याइरहेको छ : प्रधानमन्त्री दाहाल

भ्रष्टाचारका उजुरी कहाँ बढी ? (क्षेत्र र प्रदेशगत)

‘भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ’

बलियो भ्रष्टाचार, कमजोर अख्तियार (नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष विष्णुराज उप्रेतीसँगको वार्ता)


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।