गोल मेसिन हाल्यान्ड : सिटीको पुनरागमनमा प्रमुख भूमिका

कार्तिक ३, २०८२ |फायेज होदा
गोल मेसिन हाल्यान्ड : सिटीको पुनरागमनमा प्रमुख भूमिका

काठमाडौं । नर्वेलाई फिफा विश्वकप नजिक पुर्‍याएका इर्लिङ हाल्यान्ड क्लबका लागि पनि नभई नहुने खेलाडीमा पर्छन्। 

विश्वका महागामध्येका एक उनी जस्तोसुकै कठिन अवस्थामा उनी सहजै गोल गरिदिन्छन्। उनले प्रिमियर लिगमा डेब्यु गरेपछि गोल गर्न कठिन छ भन्ने भाष्य पनि समाप्त भएको छ। युवाकालदेखि नै विशेष क्षमता भएका हाल्यान्डले यो सिजनमा पनि सानदार सुरूआत गरेका छन्।

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगमा खराब सुरूआत मात्रै गरेन, मुख्य प्रशिक्षक पेपे ग्वार्डिओलाको रणनीतिमा पनि प्रश्न उठ्न सुरू भयो। सिटीले पहिलो ३ खेलमा एक मात्र जितसहित ३ अंक जोडेको थियो । त्यसपछिका पाँच खेलमा सिटी अपराजित छ। 

उसले चार जित र एक बराबरी खेलेर १६ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा पुनरागमन गरेको छ । सिटिको यो यात्रामा इर्लिङ हाल्यान्डको महत्वपूर्ण भूमिका छ । उनले ८ खेलमा ११ गोल गरिसकेका छन् । हृयाटि्रक हिरो हाल्यान्ड सिजनका आठौं खेलसम्म घरेलु लिगमा १० वा बढी गोल गर्ने पहिलो र एक मात्र खेलाडी हुन । 

उनले यो कीर्तिमान त यसअघि २०२२/२३ र २४/२५को सिजनमा पनि बनाएका थिए । त्यसैले पनि हाल्यान्ड कन्सिस्टेन्ट खेलाडीका रूपमा विश्वविख्यात छन्। यो सिजनमा उनले सिटी र नर्वेका लागि १३ खेल खेलिसकेका छन्, जसमा २३ गोल गरेका छन् । 

विश्वकप छनोटमा नर्वेका लागि आठ गोल गरेका छन्, जसले उनको देशलाई अर्को वर्ष हुने प्रतियोगिता नजिक पुर्‍याएको छ। हालान्डले प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग, युएफा सुपर कप र फिफा क्लब वर्ल्ड कपजस्ता ठूला उपाधि जित्नमा महत्वपूर्ण भूमिका खेलेका छन्। 

गोल निरन्तरता र टीमलाई जितसम्म पुर्‍याउने कारण ग्वार्डिओला जस्ता प्रशिक्षकले उनलाई विश्वका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक मान्छन्। प्रशिक्षक ग्वार्डिओला भने आफ्नो टिम उत्कृष्ट स्ट्राइकरप्रति अत्यधिक निर्भर नहोस् भनेर सतर्क छन् । 

सिटीले यो सिजन १७ गोल गर्दा हाल्यान्डले १३ गोल गरेका हुन्। ग्वार्डिओला अब अन्य खेलाडी पनि अग्रसर भएर गोल गर्ने जिम्मेवारी बााड्नुपर्छ भन्ने अपेक्षा राखेका छन् । फिल फोडेन, नुनेस, रेहिन्दर्स र शेर्कीले एक-एक गोलको योगदान दिएका छन्। 

हालान्डले गत सिजनको ठूलो भाग खुट्टाको चोटका कारण खेल्न सकेनन् र लगातार ३ सिजन गोल्डेन बुट जित्नबाट चुकेका थिए । लिगमा कमजोर सुरूआत गरेको भए पनि सिटी अहिले फेरी उपाधिको प्रमुख दावेदार रूपमा उदाएको छ । त्यसका लागि हालान्डको सिजनभरिको फिटनेस महत्वपूर्ण हुनेछ ।


Image

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्